पर्वतको कुश्माबाट बागलुङ बलेवा जोड्ने मोटरेवल पुल निर्माण हुँदै

मंसिर १२ पर्वत । पर्वतको कुश्माबाट बागलुङको बलेवा जोड्ने गरि मोटरेवल पुल निर्माण गरिने भएको छ । बिगत ५ वर्ष देखी चर्चामा रहेको कुश्मा नगरपालिका ४ को चाक्लेडिलबाट बलेवाको नेपाने जोड्ने गरि पुल निर्माण गर्ने योजना साकार हुन थालेको सरोकारवालाले बताएका छन् । कुश्मा नगरपालिकाले हिजो उक्त पुल निर्माण प्रक्रियाका बारेमा छलफल गरेको छ ।

पुल निर्माणका लागि आवश्यक पर्ने सडकको निकाश, जग्गाको व्यवस्थापन, डिपिआर निर्माण र टेण्डर प्रक्रिया थाल्ने लगायतका विषयमा नगरपालिकाले छलफल गरेको हो । नेपाल सरकारले चालु आर्थिक वर्षको बजेट पुस्तकमा कालीगण्डकी नदीमा पक्कि पुल बनाउने योजना उल्लेख गरेको छ । सरकारले बजेट व्यवस्थापन गर्ने भएपछि सरोकारवाला आवश्यक प्रक्रिया शुरु गर्न जुटेका हुन् ।

छलफलका क्रममा आवश्यक प्रक्रियामा नगरपालिकाले सहजीकरण गर्ने निर्णय भएको नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिए । उनले वल्लो डाँडादेखि पल्लो डाँडा सम्म पुल निर्माण गर्न सकिने विषयमा प्रारम्भिक अध्ययन भएको र मंसिर सम्म डीपीआर तयार पारि टेण्डर प्रकाशन गरिने बताए । नगरप्रमुख जोशीले यो पुल चिनियाँ शैलीको प्रविधि अनुसार निर्माण हुन लागेको बताएका छन् ।
पर्वत र बागलुङ दुई जिल्ला जोड्ने पुलका लागि सरकारको माथिल्लो निकाय सम्म समाजसेवी मेघनाथ पौडेलले पहल गरिरहेका छन् ।

कालीगण्डकी नदीमा बनेका नेपालका लामा र अग्ला पुलहरुको निर्माणमा पौडेलले पहल गरेका थिए । पौडेलले कालीगण्डकीमा पुल निर्माणका लागि राजनीतिक नेतृत्व, विभिन्न विभाग र मन्त्रालय सम्म धाईरहेको बताए । उनले कालीगण्डकीमा मोटरेवल पुल बनाउने सपना पुरा हुने विश्वास व्यक्त गरे । मोटरेवल पुल निर्माणका लागि डेढ अर्व बजेट आवश्यक पर्ने अनुमान गरिएको छ । उक्त पुल करिव ५७० मिटर लामो र १४५ मिटर उचाईमा रहने जनाईएको छ ।

प्रकाशित मिति १२ मंसिर २०७७, शुक्रबार ०३:३४