दुरवस्था लुकाउँदै सरकार

मंसिर १२, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भाषणहरूमा देशमा विकास भइरहेको र अर्थतन्त्र धेरै खराब अवस्थामा नरहेको भन्न छुटाउँदैनन् । कतिपय काममा कोभिड–१९ को संक्रमणले केही असर गरे पनि ‘सन्तुष्टि मान्नुपर्ने’ उनको स्पष्टोक्ति हुने गरेको छ ।

मुलुकको अवस्था ‘सब ठीकठाक’ रहेको देखाउन समग्र विकास तथा अर्थतन्त्रको दुरवस्था र पुनरुत्थानका लागि स्रोतको आवश्यकतासम्बन्धी अध्ययन प्रतिवेदन भने झन्डै ४ महिनादेखि थन्क्याइएको छ ।
नेपालमा कोरोना भाइरस फैलिएसँगै गरिएको लकडाउनलगत्तै राष्ट्रिय योजना आयोगले विज्ञहरूको टोली बनाएर कोभिड–१९ को क्षति र स्रोतको आकलनसम्बन्धी अध्ययन गरेको थियो । आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठ, बहालवाला अधिकारीहरू, पूर्वसदस्य गोविन्द नेपाल र सरोकारवाला विज्ञहरू सम्मिलित टोलीले असारमै प्रतिवेदन तयार पारेको थियो । प्रतिवेदनको मस्यौदाअनुसार गत आर्थिक वर्षमा मात्रै कुल गार्हस्थ्य उत्पादनमा १ खर्ब ९८ अर्ब क्षति भएको छ । १५ लाख ६७ हजार जनाले रोजगारी गुमाएका छन् । १२ लाख नागरिक गरिबीको रेखामुनि धकेलिएका छन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय सबैजसो लक्ष्य पूरा हुने मिति पर सर्ने निश्चित रहेको औंल्याइएको छ ।साभार–कान्तिपुर दैनिकवाट

प्रकाशित मिति १२ मंसिर २०७७, शुक्रबार ०३:५९