पर्वतमो मोदी गाउँपालिकामा स्वास्थ्य सामग्री वितरण

मंसिर १५, पर्वत । पर्वतको मोदी गाउँपालिका–६ तिलाहार डिमुवामा स्वास्थ्य सामाग्री वितरण गरिएको छ । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी एवम् प्रदेश सभा पदका उम्मेदवार राजेन्द्रप्रसाद तिवारीको व्यक्तिगत खर्चमा सो क्षेत्रका जनतालाई स्वास्थ्य सामग्री वितरण गरिएको हो । डिमुवा बजारमा आईतवार एक कार्यक्रमको आयोजना गरि नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् स्थानिय तह विभागका केन्द्रिय संयोजक अर्जुन जोशी, राजेन्द्रप्रसाद तिवारी र नेपाली काँग्रेसका सचिव अशोक उचै ठकुरीले नेपाली काँग्रेस मोदी गाउँपालिका सभापति जिवनाथ शर्मालाई हस्तान्तरण गर्नुभएको छ । कोभिढ–१९ को संत्रास समुदायमा फैलिएको अवस्थामा यसको रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सामाग्री हस्तानतरण गरिएको हो ।

कार्यक्रममा बोल्दै नेता जोशीले सरकारले जनताको स्वास्थ्यप्रति खेलवाड गरेको आरोप लगाउनु भयो । उहाँले सरकार र सत्तारुढ दल कोरोना महामारी व्यवस्थापनलाई पूर्ण बेवास्ता गरेर पार्टीभित्रको झगडा जित्न मात्र उद्धत रहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । ‘लाखौं मानिसलाई कोरोना भाइरस संक्रमण भइरहेको छ । समुदायममा कोरोनाको संत्रास छ,’ नेता जोशीले भन्नुभयो ‘तर रोग निवारण, व्यवस्थापनमा सरकारको पूर्ण बेवास्ता छ, कुनै ध्यान छैन ।’ उहाँलेभन्नुभयो, ‘पार्टीभित्रको झगडा कसरी जित्ने बाहेक अरू केही चिन्ता देखिन्न । सरकार र सत्तारुढ दलबाट यस्तो लापरबाही कति दिन चल्ने ?’ उहाँले काँग्रेस जनताको स्वास्थ्य अवस्थाप्रति चिन्तित रहेको जिकिर गदै कोरोना विरुद्ध सचेतना फैलाउन स्वास्थ्य सामग्री लिएर गाउँगाउँ जान कार्यकर्तालाई आग्रह गर्नुभयो । कम्युनिष्टहरु झगडा गरिरहँछन्, काँग्रेस जनताको घरघरमा पुगेर स्वास्थ्य सामग्री सहित सचेतना फैलाउँछ ।,’नेता जोशीले भन्नुभयो । जिल्लामा कोरोना भाइरसको संत्रास फैलिएको अवस्थामा आफुले जिल्लाका सबै स्थानिय तह र स्वास्थ्य संस्थामा सामग्री वितरण गरेको जोशीको भनाई छ ।

राजेन्द्रप्रसाद तिवारीले जनताको स्वास्थ्य समस्यालाई मध्येनजर गदै स्वास्थ्य सामाग्री वितरण गरेको बताउनु भयो । उहाँले सरकारले कोरोनावाट जनतालाई सुरक्षित राख्न सरकार चुकेको बताउनु भयो । नेता तिवारीले कोरोनाको सम्भावित जोखिम रोक्न सबैलाई सुरक्षा सतर्कता अपनाउन आग्रह गर्नुभयो । मोदी गाउँपालिकाप्रति आफ्नो छुट्टै सद्भाव र माया रहेको जिकिर गदै भावी दिनमा थप सहयोग गर्ने बताउनु भयो । नेपाली काँग्रेस पर्वतका सचिव अशोक उचै ठकुरीले स्वास्थ्य सामग्रीले कोरोना भाइरस नियन्त्रण र रोकथाममा सहयोग पुग्ने बताउनु भयो ।

नेपाली काँग्रेस मोदी गाउँपालिकाका सभापति जिवनाथ शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य नेपाली काँग्रेसका युवा नेता जिवन प्रसाई र कार्यक्रम संचालन नेपाल तरुण दल मोदी गाउँपालिका अध्यक्ष निर्देश लामिछानेले गर्नुभएको थियो ।

प्रकाशित मिति १५ मंसिर २०७७, सोमबार ०२:१९