पर्वतको कुश्मा र बिहादी बाहेक अन्य स्थानीय तहमा अस्पतालको शिलन्यास

मंसिर १६, पर्वत । पर्वतका ५ वटा स्थानीय तहमा आधारभूत अस्पताल निर्माणको लागि सोमवार शिलन्यास भएको छ । जिल्लाको कुश्मा नगरपालिका र बिहादी गाउँपालिकामा भने अस्पताल निर्माणको लागि शिलन्यास भएको छैन । कुश्मामा अस्पताल निर्माणका लागि बोलपत्र आव्हान भए पनि ठेकेदार संग सम्झौता नभएकोले आज अस्पताल शिलन्यास नभएको प्रमुख प्रसासकिय अधिकृत हरि पंगेनीले जानकारी दिनुभयो । कुश्मा नगरपालिका ७ खरेयामा अस्पताल निर्माण हुँदैछ ।

बिहादी गाउँपालिकाले पनि अस्पताल निर्माणका लागि बोलपत्र आव्हान गरि निर्माण कम्पनी छनौट भैसकेको र सम्झौता नभएकाले शिलन्यास हुन सकेन । दुबै स्थानीय तहले केहि समय पछि शिलन्यास गर्ने जनाएका छन् । फलेवास नगरपालिका, महाशिला, पैयुँ, मोदी, र जलजला गाउँपालिकाले भने अस्पतालको शिलन्यास गरेका छन् । पर्वतको मोदी गाउँपालिकामा प्रतिनिधी सभाका साँसद पदम गिरीले बन्ने अस्पताल शिलन्यास गर्नुभएको छ ।

पर्वतको फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले देबिस्थानमा बन्ने अस्पतालको शिलन्यास गर्नुभएको छ । महाशिला स्थित लुँखु देउरालीमा गाउँपालिकाका अध्यक्ष राजु पौडेलले शिलन्यास गर्नुभएको छ । जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले माझफाँटमा अस्पतालको शिलन्यास गर्नुभएको छ । पैयुँ गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले हुवासमा बन्ने अस्पतालको शिलन्यास गर्नुभयो ।

प्रकाशित मिति १६ मंसिर २०७७, मंगलवार ०१:२८