मंसिर १७, पर्वत । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा महिना दिनभित्रै सार्वजनिक गर्न तयारी गरेको छ । कोरोनाका कारण रोकिएर ढिला गरी लिइएको परीक्षा मंगलबार सकिएको छ ।
उत्तरपुस्तिका परीक्षण, सम्परीक्षण र नतिजा तयारीका लागि एक महिनाको समय लाग्ने अनुमान गरिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए । उत्तरपुस्तिका परीक्षणको काम सुरु भइसकेको छ । शिक्षकहरूले उत्तरपुस्तिका परीक्षण गरेर मंसिर २२ सम्म बोर्डको सम्बन्धित कार्यालयमा पठाइसक्नुपर्नेछ ।
बोर्डको प्रदेश र शाखा कार्यालयहरूमा ती उत्तरपुस्तिकाको सम्परीक्षण गरेर केन्द्रमा पठाइनेछ । केन्द्रमा अंक प्राप्त भएपछि कक्षा ११ को प्राप्तांक, आन्तरिक र प्रयोगात्मक परीक्षाको अंक जोडेर नतिजा सार्वजनिकको तयारी गरिने पौडेलले बताए । ‘कुनै बाधा अवरोध नभए एक महिनाभित्र नतिजा प्रकाशन गर्न सक्ने लक्ष्य लिएका छौं,’ उनले भने, ‘१५ पुससम्म नतिजा प्रकाशित हुने आशा गरौं ।’
कोरोना महामारीका कारण वैशाखमा हुनुपर्ने परीक्षा स्थगित भएको थियो । बोर्डले मन्त्रिपरिषद्को स्वीकृतिमा कार्यविधि जारी गरेर ४० पूर्णांकको संक्षिप्त परीक्षा सञ्चालन गरेको हो । परीक्षा मर्यादित रूपमा सकिएको बोर्डले दाबी गरेको छ । विद्यार्थीले आफूले अध्ययन गरेकै विद्यालय ९होम सेन्टर० मा परीक्षा दिन पाउने व्यवस्था गरिएको थियो । उत्तरपुस्तिका पनि विद्यालयकै विषयशिक्षकले परीक्षण गरेर बोर्डको प्रदेश कार्यालय र शाखा कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।
प्रकाशित मिति १७ मंसिर २०७७, बुधबार ०३:१९