तीन दिनभित्र कोरोना बिमाको भुक्तानी दिन निर्देशन

मंसिर १९, काठमाडौँ । कोरोना बिमाको दाबी भुक्तानी तीन दिनभित्र गर्न अर्थ मन्त्रालयले बिमा समितिलाई निर्देशन दिएको छ । सात दिनभित्र दाबी भुक्तानी गर्न यसअघि दिइएको निर्देशन पालना नभएपछि अर्को निर्देशन दिनुपरेको अर्थ मन्त्रालयले जनाएको छ ।

सात दिनभित्र दाबी भुक्तानी दिने निर्देशन पूर्ण रूपमा पालना नभएको, अझै धेरै संख्यामा दाबी भुक्तानी बाँकी रहेको, दैनिक प्रगति विवरण मन्त्रालयमा नपठाइएको, बिमा समितिले हटलाइन सेवा सञ्चालन नगरेकोलगायत कारण पुनः निर्देशन दिनुपरेको मन्त्रालयले बिमा समितिलाई पठाएको पत्रमा उल्लेख छ । गत कात्तिक १८ मा अर्थ मन्त्रालयले सात दिनभित्र दाबी भुक्तानी दिन भनेको थियो ।

‘कोरोना बिमा मापदण्डबमोजिम प्रक्रिया तथा कागजात पूरा भएका दाबीहरूको भुक्तानी तीन दिनभित्र गरी दैनिक रूपमा मन्त्रालयमा जानकारी गराउनू,’ पत्रमा भनिएको छ, ‘भेरिफिकेसन गर्न बाँकी दाबी यथाशीघ्र प्रमाणीकरण गरी भुक्तानी व्यवस्था मिलाउनू ।’ कोरोना बिमाको हालसम्मको दाबी संख्या, पूरा भएको दाबी संख्या, प्रमाणीकरणका लागि स्वास्थ सेवा विभाग पठाइएको दाबीको विवरण, नक्कली दाबी विवरण, दाबी भुक्तानी विवरण, सबै कागजात पूरा भए पनि भुक्तानी बाँकी दाबी संख्यालगायत विषयको तथ्यांक नियमित सार्वजनिक गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।

प्रकाशित मिति १९ मंसिर २०७७, शुक्रबार ०५:४४