राजावादीको प्रदर्शनप्रति गृह प्रशासन लचिलो

मंसिर २०, काठमाडौँ । राजतन्त्रको पक्षमा देशभर प्रदर्शन हुन थालेपछि गृह मन्त्रालयले भिडभाड र जुलुस गर्न नदिन भन्दै बुधबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दियो । लगत्तै जिप्रकाहरुले पनि सूचना निकाले ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले १६ मंसिरमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो समय जिल्लामा विभिन्न माग राखी राजनैतिक तथा अन्य भिडभाडजन्य गतिविधि जस्तै सभा, जुलुस, प्रदर्शन र अभियान सञ्चालन गरेको सूचना प्राप्त हुन आएको र ‘।यस्ता भिडभाडजन्य गतिविधिहरु नगर्न नगराउन साथै महामारी रोकथामा सहयोग पुर्याउन सबैमा अनुरोध गरिन्छ ।’

त्यसको दुई दिनपछि १८ गते जिप्रका, काठमाडौंले अर्को विज्ञप्तिमा भने केही नरम भाषा प्रयोग भएको छ । राजनीतिक वा गैरराजनीतिक केही नभनि कोरोना संक्रमणको अवस्थालाई धेरै मासिसहरु भेलारजम्मा हुने र जनस्वास्थ्यका मापदण्डहरु उल्लंघन हुने खालका सभा सम्मेललन तथा भिडभाड हुने क्रियाकलापहरु हुनरगर्न नदिन उपत्यकावासीलाई अनुरोध गरिएको छ ।

स्रोतका अनुसार राजावादीहरुको प्रदर्शनलाई लिएर गृहको रणनीतिमा केही फेरबदल भएको छ । यसअघि शनिबार हुने भनिएको राजवादीहरुको प्रदर्शनलाई तितरवितर पार्न तयारी थियो, तर अब शान्तिपूर्ण प्रदर्शनमा अवरोध हुने छैन ।

राजवादीहरुको प्रदर्शन रोक्न सर्कुलर गर्दा नै सरकार आलोचित भएको थियो । पछिल्लो पटक पुल उद्घाटन गर्न तनहुँ पुगेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि धरपकड गरेपछि विपक्षी दल पनि सरकारमाथि खनिएको छ ।

शनिबार प्रदर्शनमा बल प्रयोग गरे सरकार थप आलोचित हुने विश्लेषणका आधारमा गृह मन्त्रालयले राजावादीहरुको प्रदर्शनको निगरानी मात्र गर्नु भन्ने निर्देशन दिएको छ ।

प्रकाशित मिति २० मंसिर २०७७, शनिबार ०२:००