मध्यपहाडी लोकमार्गको पर्वत खण्ड दैनिक साढे तीन घण्टा बन्द हुने

मंसिर २०, पर्वत । मध्यपहाडी लोकमार्गको पर्वत खण्ड फराकिलो बनाउन र सुधार गर्नका लागि दैनिक साढे तीन घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतको संयोजनमा शुक्रवार बसेको सर्वपक्षिय बैठकले अप्ठेरो भिरमा कटान गर्नका लागि मंसिर २१ गते आइतवार देखि दुई हप्ताका लागि सडक बन्द गर्ने निर्णय भएको हो ।

लोकमार्गको पर्वत खण्डमा पर्ने कुश्मा नगरपालिका वडा नं. ७ खरेहादेखि वडा नं. ८ को दोबिल्ला बिचको भीरमा सडक फराकिलो बनाउन सडक बन्द गरेर काम गर्ने निणर्य भएको छ । पर्वतको सडक खण्डमा बिहान ११ बजे देखि दिउँसो साढे २ बजे सम्म सडक बन्द निणर्य भएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले जानकारी दिनुभयो । मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा अहिले धमाधम काम भैरहेको छ ।

अहिलेसम्म लोकमार्गको झण्डै ७० प्रतिशत काम सम्पन्न भएको र खरेहा र चुवाको भीर तथा चुवादेखि दोविल्ला बीचको दुरीमारहेको भीरमा कडा चट्टान फुटाउन बाँकी रहेकाले सडक बन्दनै गरेर निर्माण कार्य अघि बढाउन लागिएको हो । सडकमा सवारीको चाप बढ्दै गएकाले काम गर्न समस्या पर्ने हुँदा आवतजावत नै रोकेर निर्माण गर्न थालिएको सडक निर्माण कम्पनी लामा कन्ट्रक्सन कम्पनीका प्रोजेक्ट म्यानेजर गोबिन्द भुसालले बताउनुभयो ।

आयोजनासँंग ३६ महिनामा निर्माण काम सक्ने गरि सम्झौता भएपनि गत भदौमा सम्झौता अवधि सकिईसकेको छ । कोभीड–१९ का कारण झण्डै ७ महिनादेखि रोकिएको काम गत असोजको दोस्रो सातादेखि शुरु भएको थियो । पर्वत खण्डमा सडक स्तरोउन्नतीको क्रममा मोदीखेत क्षेत्रमा कालोपत्रे बिच्छ्याउन पनि शुरु गरिएको छ ।

स्तरउन्नतीको कामलाई तीब्र बनाउँदै मोदीखेत देखि कालोपत्रे बिच्छ्याउन शुरु गरिएको भुसालले जानकारी दिनुभयो । कम्पनीका प्रतिनिधी राजाराम आचार्यका अनुसार जाडो नबढे सम्म कम्तीमा पनि ५ किलोमिटरमा कालोपत्रे बिच्छ्याउने काम सकिने छ । अनुकल भए सम्म कास्की र पर्वतको सिमाना सम्म कालोपत्रे बिच्छ्याउने काम निरन्तर हुने आचार्यले बताउनुभयो ।

निर्माण कम्पनीका अनुसार आयोजनाको पर्वतको प्रवेशद्वार देखि मालढुंगा सम्मको २३ दशमलब ७६९ किलोमिटर स्तरउन्नतीको कम्पनीले रु.८३ करोड ९८ लाख रुपैयामा ठेक्का लिएको हो ।

प्रकाशित मिति २० मंसिर २०७७, शनिबार ०२:०७