पर्वतमा महिला हिँसा र जातिय विभेदको बारेमा छलफल

मंसिर २१, पर्वत । कोरोना भाईरसका कारण महिलामा उत्पन्न समस्या र जातिय विभेदका घटनाका सन्दर्भमा आज पर्वतको कुश्मामा अन्तरक्रिया गरिएको छ । सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश र अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक पर्वतको संयुक्त आयोजनामा उक्त अन्तरक्रिया भएको हो ।

जनप्रतिनिधी, कानुन व्यवसायी, मानवअधिकारकर्मी , दलित अधिकारकर्मी र सञ्चारकर्मीहरुको उपस्थितीमा भएको छलफलमा लैगिंक हिँसा, कोभिडका कारण महिलामाथी भएका दमन र दलित समूदायलाई समाजमा हुने गरेका बिभेदका बारेमा आफना धारणा राख्नुभयो । लैगिंक हिँसा विरुद्धको १६ दिने अभियान समेत अहिले सञ्चालन भैरहेका बेला पर्वतमा यो कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर वि. पौडेलले वर्षौदेखि विभेद र हिँसामा पर्दै आएको समूदायको स्थिती अहिले पनि सुधार हुन नसकेको बताउनुभयो । उहाँले समाजमा रहेको कथित जातिय विभेद, महिलामाथी हुने हिँसा र अधिकारका कुरामा सेमिनार, गोष्ठि र सभामा छलफल हुने भएपनि मानिसहरुको चेतना माथी उठ्न भने नसकिरहेकोमा दुख व्यक्त गर्नुभयो । उहाँले तीनै तहका सरकारले कडा कानुन बनाएर विभेदहरुको अन्त्य गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

जिल्ला समन्वय समितिका सदस्य एवं दलित अधिकार कर्मी कविता विश्वकर्माले महिलाहरु माथी र दलित माथी उत्पीडन, घरेलु हिँसा र यौनजन्य हिँसा भैरहेको बताउनुभयो । उहाँले दलित महिलाहरु झनै पिडामा रहेको बताउनुभयो । गै्रह सरकारी संस्था महासंघका केन्द्रिय सचिव देविप्रसाद तिमिल्सिनाले स्थानीय तह, प्रदेश र संघका अलग अलग कानुन रहेका कारण ति कानुन कार्यान्वयनमा समस्या रहेको बताउनुभयो । कोभिड १९ ले महिलाहरु चुलो देखि पधेँरासम्म विभेदमा परेको भन्दै समानताको भावना विकास गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका केन्द्रिय उपाध्यक्ष राजेन्द्र पहाडीले कार्यपत्र प्रस्तुत गर्दै हिँसा घरभित्र र वाहिर अहिले पनि कायमै रहेको हुनाले त्यसलाई रोक्न बनेका कानुनहरुको निर्ममता पूर्वक कार्यान्वयन गर्न माग गर्नुभयो ।

पहाडीले प्रस्तुत गर्नुभएको कार्यपत्र माथी अधिबक्ता दिलिप पौडेलले टिप्पणी गर्नुभएको थियो । अधिकारकर्मीहरुले जुनसुकै वाहनामा हुने विभेद र हिँसाको अन्त्य गर्न सक्रिय रुपमा लाग्नुपर्ने र जिम्मेवार भएर जुट्नुपर्ने बताउनुभयो । कार्यक्रमको सञ्चालन ईन्सेक पर्वतका प्रतिनिधी सन्तोष थापाले गर्नुभयो । थापाले कोभिड १९ का कारण लकडाउनको अवधिमा पर्वतमा भएका विभिन्न घटनाको विवरण सार्वजनिक गर्नुभएको थियो । चैत यता जिल्लामा ६ वटा यौनहिँसाका घटना र ७ वटा घरेलु हिँसाका घटना भएको थापाले जानकारी गराउनुभएको थियो ।

प्रकाशित मिति २१ मंसिर २०७७, आईतवार ०२:०१