यात्रा गर्दै हुनुहुन्छ ? यो समयमा बन्द हुँदैछ मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्ड

मंसिर २१, पर्वत । सडकमा सञ्चालनमा रहेकै अवस्थामा निर्माणको काम गर्दा जोखिम हुने भएकोले मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड आईतवार बाट दैनिक साढे तीन घण्टा बन्द गर्न शुरु भएको छ । राष्ट्रिय गौरवको आयोजनाको पर्वत खण्डको कतिपय ठाउँमा कटान गरेर सडक फराकिलो बनाउने तथा कतिपय ठाउँमा सुधार र कालोपत्रेको काम चलिरहेको छ । कालोपत्रेको काम चलिरहेका ठाउँमा समस्या नहुने भए पनि भीर कटान गर्नुपर्ने ठाउँमा सवारी सञ्चालनमा रहँदा दुर्घटना जोखिम हुने भएका कारण बन्द गर्न थालिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी सहायक निरीक्षक कृष्णबहादुर खड्काका अनुसार जिल्ला प्रशासन कार्यालय पर्वतको संयोजनमा आज देखि दुई हप्तासम्म सडक बन्द गर्न थालिएको हो । लोकमार्गको पर्वत खण्डमा पर्ने कुस्मा नगरपालिका–७ खरेहादेखि वडा–८ को दोबिल्ला बीचको भीरमा सडक फराकिलो बनाउन सडक बन्द गरेर काम गर्ने निर्णय भएको छ । यसअनुसार बिहान ११ बजेदेखि दिउँसो साढे २ बजेसम्म सडक बन्द हुने भएको हो । लकडाउनमा विभिन्न समस्याका कारण सडकको काम रोकिएको भए पनि यतिबेला भने तीव्र गतिमा काम भइरहेको छ। कोभिड–१९ का कारण झन्डै ७ महिनादेखि रोकिएको काम गत असोजको दोस्रो सातादेखि सुरु भएको थियो। अहिलेसम्म लोक मार्गको झन्डै ७० प्रतिशत काम सम्पन्न भएको छ ।

खरेहा र चुवाको भीर तथा चुवादेखि दोबिल्ला बीचको दूरीमा रहेको भीरमा कडा चट्टान फुटाउन बाँकी रहेकाले सडक बन्द नै गरेर निर्माण कार्य बढाउन लागिएको हो । सडकमा सवारीको चाप बढ्दै गएकाले काम गर्न समस्या पर्ने हुँदा आवतजावत नै रोकेर निर्माण गर्न थालिएको सडक निर्माण कम्पनी लामा कन्स्ट्रक्सन कम्पनीका प्रोजेक्ट म्यानेजर गोविन्द भुसालले बताए । निर्माण कम्पनीका अनुसार आयोजनाको पर्वतको प्रवेशद्वारदेखि मालढुंगासम्म २३ दशमलव ७६ किलोमिटर स्तरोन्नतिको कम्पनीले ३ करोड ९ लाख रुपैयाँमा ठेक्का लिएको हो ।

पर्वत खण्डको २३ किलोमिटरमध्ये स्ट्रक्चरको काम ९८ प्रतिशत सकिएको छ। बागलुङको सिमाना मालढुंगादेखि नयाँपुलसम्म करिब ५ किलोमिटर कालोपत्रे गरिएको छ ।

प्रकाशित मिति २१ मंसिर २०७७, आईतवार १४:२३