अन्जु पन्तकी छोरी परितोषिका अब मोडलिङमा

मंसिर २७, काठमाडौँ । गायिका अन्जु पन्तले आफ्नो एउटा नयाँ गीतको भिडियोमा छोरीलाई मोडलको रूपमा उतारेकी छन् । आफैंले पहिलोपटक संगीत गरेको गजल धेरै माया नदेऊ मलाई‘को भिडियोमा उनले छोरी परितोषिका पन्तलाई मोडलको रूपमा डेब्यु अभिनय गराएकी छन् ।

योे नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ । नयाँ प्रतिभाको रूपमा अभिनय यात्रा प्रारम्भ गरेकी परितोषिका पन्तले आफूलाई आमाको अरू गीतमा पनि अभिनयको प्रस्ताव आएको बताएकी छन् । तर, यो गीत साह्रै निकै मन परेको कारणले यसमा अभिनय गरेको उनले प्रस्ट पारिन् । उनले आफ्नो नयाँ काम अनि नयाँ भिडियो हेरेर लागेको सल्लाह सुझाव र प्रतिक्रिया दिन आग्रह गरेकी छन् ।

पन्तकै स्वरमा रहेको यो गीत गीतकार सुरेश वाग्लेले लेखेका हुन् । पन्तकी छोरी परितोषिकाका साथमा मोडल कुन्साङ बोम्जन प्रस्तुत भएका छन् । आफ्नो सांगीतिक करियरमा यो गीत निकै विशेष बनेको गायिका पन्तको दाबी छ ।

‘यो गजल भए पनि आधुनिक किसिमले पहिलो प्रयास स्वरूप मैले संगीत गरेको छु, छोरी परितोषिकालाई पनि यसै गजलबाट अभिनयमा डेब्यु गराएका कारण मेरो लागि यो विशेष बनेको हो ।’

यो गजलको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । खड्काले गजल प्रभावशाली बनेको र परितोषिकाको अभिनय पनि राम्रो भएकाले दर्शक तथा श्रोताले मन पराउने विश्वास व्यक्त गरेका छन् ।

मोडेल कुन्साङले पनि गायिका पन्तसहितको टिमसँग काम गर्न पाउँदा खुसी लगेको बताएका छन् । नयाँ भए पनि परितोषिकाको अभिनय राम्रो भएको र रसायन आफूसँग मिलेका कारण भिडियो राम्रो बनेको यी मोडलको कथन छ ।

प्रकाशित मिति २७ मंसिर २०७७, शनिबार ०१:२०