पर्वत दुर्लुङका पहिरो पीडितलाई दोस्रो किस्ता प्रदान

पुष १, पर्वत । पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङका पहिरो पीडित दुई परिवार लाई नयाँ घर निर्माणका लागि प्रवासी पर्वतेलीहरुको संस्था मार्फत आर्थिक सहयोग उपलब्ध गराईएको छ । अन्तराष्ट्रिय पर्वत समाजको समन्वयमा पर्वत समाज बेल्जियम र पर्वत वेलफेयर सोसाईटी यूके मार्फत प्राप्त दोस्रो किस्ताको रकम आज दुर्लुङमा पुगेर वितरण गरिएको हो । पहिलो किस्ता डेढ÷डेढ लाख पाएका पीडित अम्मर थापा र विकास विकलाई आज दोस्रो किस्ताको एक÷एक लाख रुपैयाँ वितरण गरिएको हो ।

पर्वतको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले रकम पीडित परिवारका सदस्य अम्मर र विकासलाई हस्तान्तरण गर्नुभयो । अन्तराष्ट्रिय पर्वत समाजका उपाध्यक्ष पर्शुराम पौडेल र अन्तराष्ट्रिय पर्वत समाजका प्रमुख संरक्षक हितकाजी गुरुङले पहिरो पीडितलाई आवास दिलाउने प्रतिबद्धता जनाए अनुसार पर्वत समाज बेल्जियम र पर्वत वेलफेयर सोसाईटी यूकेको सहकार्यमा पीडितको घर निर्माण भैरहेको छ । घर निर्माण अन्तर्गत पीडित दुबै परिवारले पक्कि घर बनाएर पहिलो तलाको ढलान गरेका छन् । घर निर्माणको काममा संस्थाले गरेको सहयोगले पीडितलाई राहात पुग्ने विश्वासका साथ घर निर्माणको काम थालिएको प्रमुख संरक्षक हितकाजी गुरुङले बताउनुभयो । उहाँले गाउँमा भएको यो विपत्तीले सबै बिदेशमा बस्ने नेपालीहरुको मन दुखेको हुनाले त्यही दुखलाई सहायता मार्फत मल्हम लगाउने कोशिस गरेको बताउनुभएको छ । सहयोग हस्तान्तरण गर्दै कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले प्रवासी पर्वतेलीहरु बिदेशमा रहेर पनि जिल्लावासीहरुलाई समस्या परेको बेला एकजुट भएर सहयोग गर्दै आएको स्मरण गर्नुभयो । यो सामूहिक एकता र सहयोगले जिल्लामा समस्या र आपत्तीमा परेकाहरुले राहात पाउँदै आएको जोशीले बताउनुभएको छ । उहाँले बाँकी किस्ताको रकम पनि चाँडै प्राप्त हुने जानकारी गराउनुभयो । घर निर्माणका लागि कुश्मा नगरपालिकाको तर्फबाट दाताहरुको खोजी गरि पुननिर्माणको काम अगाडी बढाईएको जोशीले अवगत गराउनुभएको थियो । पर्वत वेलफेयर सोसाईटी यूकेका अध्यक्ष नेत्र आलेले दुखमा दुख र सुखमा सुख बाँड्ने नेपालीहरुको बानी रहेको भन्दै पर्वतको दुर्लुङमा पहिरो पीडितले घर पाउँदा आफुहरु निकै खुशी भएको बताउनुभयो । आलेले सुरक्षित आवास निर्माणमा पर्वत वेलफेयर सोसाईटीका सबै पदाधिकारी तथा सदस्यहरुले सक्दो सहयोग गरेको भन्दै पीडितहरुलाई आगामी दिनमा पनि आवश्यक सहयोग दिलाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

पर्वत समाज बेल्जियमका अध्यक्ष रोशन जोशी ‘भीम’ ले पहिरोले जीउधनको क्षती हुने बित्तिकै आफुहरुले घर बनाईदिने सल्लाह गरेको हुनाले त्यहि सल्लाह अनुसार पीडित परिवारलाई वासको व्यवस्थापन गर्न थालिएको बताउनुभयो । जोशीले आगामी दिनमा यस्ता खाले आपतविपत आईपरेमा पनि समाज सहयोगका लागि तयार रहेको जानकारी गराउनुभयो ।

पीडितहरुले घर पाउँदा राहातको महसुस गरेको बताएका छन् । सहयोगदाताहरुलाई उनीहरुले आभार व्यक्त गरेका छन् । गएको जेठ ३१ गतेको पहिरोमा पुरिएर ९ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा अम्मर थापाका बुवाआमा र छोराछोरी तथा बैनी र उनका दुई छोराछोरी र विकास विकका श्रीमती र दुई छोरीछोरीले पहिरोमा पुरिएर ज्यान गुमाउनुभएको थियो ।

प्रकाशित मिति २ पुष २०७७, बिहीबार ०१:५३