पर्वत मालढुंगाका माझी तथा श्रमिक परिवारलाई राहात सामाग्री वितरण

पुष ६, पर्वत । पर्वतको कुश्मा नगरपालिका १ मालढुंगाका माझी परिवार तथा श्रमिक परिवारलाई विभिन्न राहात सामाग्री वितरण गरिएको छ । होल सोसाईटी हेल्प सोलीडारिटी ट्रेड यूनियन साउथ कोरियाको संस्थाले सहयोग गरेको हो ।

माझीबस्तीमा रहेका एकसय धुरी परिवारलाई खाद्यन्नका सामाग्री वितरण गरिएको छ । कुश्मा नगरपालिकाका नगरउपप्रमुख सीता काफ्ले लामिछानेले सामाग्री वितरण गर्नुभयो । उहाँले श्रमिक तथा सिमान्तकृत माझी परिवारको दुखमा बिदेशी संस्थाले सहयोग गरेकोमा धन्यबाद दिनुभयो । विश्वकै सबै मानवजाती एउटै परिवारका सदस्य रहेको बताउँदै लामिछानेले मानवीय सेवामा लागेको उक्त संस्थालाई आगामी दिनमा पनि सहयोग लाई जारी राख्न अनुरोध गर्नुभएको छ । उहाँले श्रमिक प्राथमिक विद्यालयमा उक्त संस्थाले छात्रबृति लगायतका सुविधामा पनि सहयोग गरेको स्मरण गर्नुभयो श्रमिक प्राबिको प्रांगणमा कार्यक्रम गरि राहात वितरण गरिएको थियो ।

दक्षिण कोरियामा उक्त संस्था मार्फत सामाजिक अभियान्ता सन्दिप चापागाईंले राहात सामाग्री यहाँ सम्म ल्याउनुभएको हो ।

कोभिडले समस्यामा परेका परिवारलाई लक्षित गरि सहयोग गरेको उहाँले बताउनुभयो । कार्यक्रममा श्रमिक प्राथमिक विद्यालयका प्रधानाध्यापक तेजेन्द्र आचार्य, दलित संघका जिल्ला अध्यक्ष याम परियार शिव, नेविसंघ हिमालय माविका अध्यक्ष विवेक गिरी लगायतले बोल्नुभएको थियो ।

प्रकाशित मिति ६ पुष २०७७, सोमबार ००:३८