पर्वतमा आत्माहत्या प्रहरीको टाउको दुखाइ-६ महिनामा १६ जनाको मृत्यु

नेपाली आवाज–डेक्स । पर्वतमा आत्माहत्याको दर बढेको छ । आत्माहत्याको संख्या बढ्नुलाई चिन्ताको रुपमा लिइएको छ । प्रहरी कार्यालयका अनुसार चालु वर्षका ६ महिनामा विभिन्न हर्कत गरि १६ जनाले आत्माहत्या गरेका छन् । आत्माहत्याका घटना बढ्दै गएपछि रोकथामका बारेमा सोच्नुपर्ने अवस्था आएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिने अवधिको समिक्षा प्रतिबेदन अनुसार चालु आर्थिक वर्ष साउन देखि यता १३ जनाले झुण्डिएर आत्माहत्या गरेका छन् । २ जनाले हामफालेर आत्माहत्या गरेका छन् भने १ जनाले विष सेवन गरि ज्यान फालेका छन् । आत्माहत्या गर्ने कारणहरु पनि अनेक रहेका छन् । पारिवारिक तनाव, काममा असफलता, प्रेममा असफलता जस्ता कारणहरुले धेरैले आत्माहत्या गरेको पाइएको प्रहरीले जनाएको छ ।

आर्थिक वर्ष २०७३÷०७४ मा ३१ जनाले आत्माहत्या गरेका थिए । आर्थिक वर्ष २०७४÷०७५ मा ३४ जनाले आत्माहत्या गरेको पाइएको थियो । पछिल्ला वर्षहरुमा आत्माहत्याका घटना बढ्नुलाई प्रहरीले चिन्ताको रुपमा उल्लेख गरेको छ । प्रहरी नायव उपरिक्षक भुवनेश्वर तिवारीले समूदायमा चेतना बढाएर आत्माहत्यालाई कम गराउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

आत्माहत्या बाहेक चालु आर्थिक वर्षको ६ महिनामा १०१ वटा मुद्धा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन् । प्रहरीमा दर्ता भएका मुद्धाहरुमा सबैभन्दा बढि सार्वजनिक अपराधका मुद्धा रहेका छन् । यो अवधिमा ३१ वटा सार्वजनिक अपराधका मुद्धा दर्ता भएका छन् । प्रहरीका अनुसार करणी सम्बन्धि १२, लागुऔषधका ९ वटा मुद्धा दर्ता भएका छन् ।

भवितव्य ज्यान, फुटकर ज्यान र चोरीका ७÷ ७ वटा र सवारी ज्यानका ३ वटा मुद्धा दर्ता भएका छन् । बहुबिबाहका ३, जुवातासका घटना ३ र सरकारी कागजात किर्तेको एउटा मुद्धा दर्ता भई अनुसन्धानको क्रममा रहेको प्रहरी नायव उपरिक्षक तिवारीले बताउनुभयो । अपराध अनुसन्धानमा प्रहरीले सफलता पाएको दावी गरिएको छ ।

हत्या, चोरी, बलत्कारी ,किर्ते जस्ता घटनामा संलग्नलाई प्रहरीले पक्रिन सफल भएको र अनुसन्धानको काम पनि सफलता पूर्वक भैरहेको प्रहरीले जनाएको छ । प्रहरीले फरार अपराधी समात्न समेत यो अवधिमा सफल भएको प्रगतिमा समाबेश गरेको छ ।

प्रकाशित मिति ५ माघ २०७५, शनिबार ०१:२३