गण्डकी संचार (पर्वत) । पर्वतमा लामो समयदेखि साहित्यिक पत्रकारिताका क्षेत्रमा योगदान पु¥याउँदै आइरहेको माधुरि साहित्यिक प्रतिष्ठानद्वारा स्थापना गरिएको सरस्वती बिमल बाङ्मय प्रतिभा पुरस्कारको दुई वर्षका बिजेताको नाम सार्वजनिक गरेको छ । प्रतिष्ठानको पुरस्कार छनोट समितिका संयोजक सुमन्तनाथ सुबेदीको अध्यक्षतामा बुधबार बसेको बैठकले प्रतिभा छनोट गरि सार्वजनिक गरेको हो ।
प्रतिष्ठानका अध्यक्ष, साहित्यकार एवं समाजसेवी सरस्वती शर्मा जिज्ञासु एवं उहाँका श्रीमान साहित्यकार एवं पशु चिकित्सक बिमल शर्माद्वारा संयुक्त रुपमा स्थापना गरेको अक्षयकोषबाट हरेक वर्ष समाजसेवा, साहित्य र पत्रकारिता बिधामा बितरण गर्दैआएको छ । समितिले वर्ष ०७७ र ०७८ का बिजेता सार्वजनिक गरिएको जनाएको छ । गतवर्ष र यो वर्षको पुरस्कार संयुक्त रुपमा पाउनेहरुमा समाजसेवी लोकनाथ आचार्य, प्राध्यापक डाक्टर षडानन्द पौड्याल, साहित्यकार शान्तिनारायण श्रेष्ठ, साहित्यकार सदानन्द अभागी, स्तम्भ लेखक डाक्टर साधना प्रतिक्षा, साहित्यकार (ऋषि प्रसाद लामिछाने) गोर्खे साईंलो र पत्रकार ओम प्रसाद घायल हुनुहुन्छ ।
उहाँहरु सबैलाई आगामी पुष १२ गतेका दिन नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङको प्रमुख आतिथ्यतथामा पुरस्कार बितरण तथा सम्मान गरिने समितिले निर्णय गरेको छ । गतवर्ष र यो वर्षको पुरस्कारका व्यक्तित्वहरु छनोट गर्नका लागि प्रतिष्ठानका उपाध्यक्ष सुभन्तनाथ सुबेदीको संयोजकत्वमा प्रतिष्ठानका अध्यक्ष जिज्ञासु, सदस्य पृथ्वीनारायण शर्मा, सचिव नवराज शर्मा र सदस्य अगन्धर तिवारी सदस्य रहनेगरि छनोट समिति गठन गरिएको थियो । समितिले पर्वतलाई प्राथमिकता दिंदै देशका बिभिन्न क्षेत्रमा रहेर पर्वतको साहित्य, पत्रकारिता एवं सामाजिक क्षेत्रमा योगदान पु¥याएका बिभिन्न व्यक्तिहरुको योगदानको मुल्याङ्कनलाई आधार बनाएर प्रतिभा छनोट गरेको हो । पुरस्कृत सबै प्रतिभालाई जनहि दश हजार नगद सहित सम्मानपत्र तथा दोसल्लाले सम्मान गरिने प्रतिष्ठानका अध्यक्ष जिज्ञासुले बताउनुभयो । जिज्ञासु दम्पतीले प्रतिष्ठानको नाममा पाँच लाख पाँच हजार पाँचसय रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ ।
कोषबाट प्राप्त व्याजको रकमबाट पुरस्कार बितरण गरिने र यो पुरस्कार पर्वत जिल्लालाई प्राथमिकतामा राख्दै देशब्यापी गराइने प्रतिष्ठानका संरक्षक बिमल पौडेलले बताउनुभयो । तीन वर्षअघि स्थापना गरिएको अक्षयकोषको रकमबाट पहिलो संस्करणमा साहित्यकार कृष्णादेबी शर्मा (श्रेष्ठ), साहित्यिक पत्रकार राजेन्द्र पहाडी र सामाजिक अभियन्ता मानकुमारी गिरीलाई यसअघि पुरस्कृत गरिसकिएको थियो । प्रतिष्ठानले त्रैमासिक रुपमा साहित्यिक पत्रिका नवमाधुरी प्रकाशन गर्दै आइरहेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र प्रेस काउण्सीलबाट समेत क बर्गमा बर्गिकृत नवमाधुरी अहिलेसम्म ४९ औं अंक प्रकाशित भइसकेको छ । उक्त पत्रिका पर्वत मात्रै नभएर देशकै उत्कृष्ठ साहित्कि पत्रिका भएको प्रेस काउन्सील र प्रज्ञा प्रतिष्ठानले समेत बताउँदै आएका छन् । उक्त पत्रिकाका सम्पादक सरस्वती शर्मा जिज्ञासु पर्वतकै पहिलो महिला सम्पादक समेत हुनुहुन्छ ।
प्रकाशित मिति २९ मंसिर २०७८, बुधबार ०३:४०


