प्रदेश अस्पताल पर्वतका स्वास्थ्यकर्मीमाथि कुटपिट

गण्डकी संचार (पर्वत) । पर्वतको कुश्मास्थित प्रदेश अस्पतालमा उपचाररत बिरामीका आफन्तले ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि कुटपिट तथा दुव्र्यवहार गरेका छन् । आइतबार दिउँसो करिब १२ बजे अस्पतालको अन्तरङ्ग (इन्डोर) विभागमा कार्यरत नर्सिङ कर्मचारीमाथि बिरामीका आफन्तले हातपात गर्नुका साथै गालीगलौज र कुटपिट गरेका हुन् ।

अस्पताल प्रशासनका अनुसार कुश्मा नगरपालिका–२ खुर्कोटका एक बिरामीको उपचार भइरहेको समयमा मादक पदार्थ सेवन गरेका आफन्तले ड्युटीमा खटिएका नर्सिङ कर्मचारीमाथि आक्रमण गरेका थिए ।

घटनालगत्तै अस्पतालको आन्तरिक सुरक्षा टोली र प्रहरी प्रशासनको सहयोगमा स्वास्थ्यकर्मीमाथि हातपात तथा अभद्र व्यवहार गर्ने मुख्य व्यक्तिलाई नियन्त्रणमा लिइएको अस्पतालले जनाएको छ । उनलाई आवश्यक कानुनी कारबाहीका लागि प्रहरीको जिम्मा लगाइएको छ ।

अस्पताल प्रशासनले घटनाप्रति गम्भीर आपत्ति जनाउँदै स्वास्थ्यकर्मीमाथि हुने यस्ता हिंसात्मक गतिविधिले उनीहरूको मनोबल गिराउने मात्र नभई स्वास्थ्य सेवा प्रवाहमै असर पार्ने जनाएको छ । उपचारमा चित्त नबुझे कानुनी तथा प्रशासनिक प्रक्रिया अपनाउनुपर्नेमा स्वास्थ्यकर्मीमाथि हातपात गर्नु निन्दनीय भएको अस्पतालको भनाइ छ ।

अस्पतालले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९) बमोजिम दोषीमाथि कडा कारबाही गर्न सम्बन्धित पक्षसँग माग गरेको छ । साथै अस्पतालमा उपचाररत बिरामी, आफन्त तथा सरोकारवालालाई संयमित व्यवहार गर्न र स्वास्थ्य संस्थालाई सुरक्षित कार्यस्थलका रूपमा कायम राख्न सहयोग गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति १६ कार्तिक २०८३, आईतवार ०७:२१