देउवा समूहले पर्वतमा ग¥यो अधिवेशन, महतले भने– आधिकारिक काँग्रेस हामी नै हौँ

गण्डकी संचार (पर्वत) । नेपाली काँग्रेसका नेता तथा पूर्वसहमहामन्त्री प्रकाशशरण महतले पार्टीको आधिकारिकता आफूहरूले पाउनुपर्ने दाबी गर्नुभएको छ । उहाँले वर्तमान नेतृत्वले बीपी कोइरालाको विचार र पार्टीको विधि तथा विधानको प्रतिनिधित्व गर्न नसकेको आरोप लगाउनुभयो ।

नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देउवा समूहले शनिबार पर्वतमा आयोजना गरेको प्रदेश तथा जिल्ला अधिवेशनको उद्घाटन गर्दै नेता महतले पार्टीको विचार र सिद्धान्तको प्रतिनिधित्व गर्ने पक्षले नै रुख चुनाव चिह्न पाउनुपर्ने बताउनुभयो ।

‘रुख विचारको प्रतीक हो । विचार नै छैन भने रुखको के अर्थ ? यदि रुखले नेपाली काँग्रेसको विचारको प्रतिनिधित्व गर्छ भने त्यो रुख हामीले पाउनुपर्छ,’ उहाँले भन्नुभयो ।

विशेष महाधिवेशन विधि र प्रक्रिया मिचेर गरिएको आरोप लगाउँदै महतले पार्टीको आधिकारिकताका लागि आफूहरूको दाबी न्यायोचित रहेको जिकिर गर्नुभयो । “भोलि जे परिणाम आए पनि हामी विधिको आत्मालाई बचाउन चाहन्छौँ,” उहाँले भन्नुभयो ।

महतले कार्यकर्तालाई कुनै हीनताबोध नराखी संगठन विस्तारमा लाग्न आग्रह गर्दै आगामी स्थानीय तहको निर्वाचनका लागि योग्य र सक्षम उम्मेदवार तयार गर्न निर्देशन दिनुभयो । अधिवेशनअघि देउवा समूहले बाजागाजासहित ¥याली निकालेको थियो । अधिवेशनबाट पर्वतमा नयाँ जिल्ला नेतृत्वसँगै महाधिवेशन प्रतिनिधि चयन गरिने जनाइएको छ ।

प्रकाशित मिति १५ कार्तिक २०८३, शनिबार १४:३२