संसदमा उठ्यो पर्वतको विद्युत समस्या, सांसद भुसालद्वारा सरकारको ध्यानाकर्षण

गण्डकी सञ्चार (पर्वत) । पर्वत जिल्लामा लामो समयदेखि दोहोरिँदै आएको विद्युत कटौतीको समस्या समाधान गर्न प्रतिनिधिसभा सदस्य सागर भुसालले संसदमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भुसालले पर्वतका नागरिकले पटक–पटक हुने विद्युत अवरोधका कारण सास्ती भोग्नुपरेको भन्दै समस्या तत्काल समाधान गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले जिल्लाबाट दैनिक रूपमा प्राप्त हुने गुनासा तथा सन्देशमध्ये विद्युत कटौती प्रमुख समस्याका रूपमा रहेको उल्लेख गर्दै पर्वतका ६१ वटै वडाका नागरिक यस समस्याबाट प्रभावित भएको बताए । सामान्य हावाहुरी वा वर्षा हुँदा विद्युत अवरुद्ध हुनु प्राधिकरणको नियमित बहाना जस्तै बनेको भन्दै उनले मौसम सामान्य हुँदा समेत घण्टौँसम्म विद्युत आपूर्ति बन्द हुने गरेको गुनासो गरे ।
“टन्टलापुर घाम लागेका बेला पनि घण्टौँसम्म विद्युत गायब हुन्छ । अब नेपाल विद्युत प्राधिकरणले के भनेर पन्छिने ? यो समस्याको वास्तविक जड के हो ? पर्वतवासीले कहिलेसम्म यस्तो नियति भोगिरहनुपर्ने हो ?” सांसद भुसालले संसदमा प्रश्न गरेका थिए ।

उनले जिल्लामा सञ्चालित २० भन्दा बढी सामुदायिक विद्युत संस्थाका कारण पनि समस्या जटिल बनेको दाबी गरे । ती संस्थाहरूमा समयमै मर्मत–सम्भार नहुने र जिम्मेवारी वहन गर्ने निकाय स्पष्ट नदेखिएको उल्लेख गर्दै सबै सामुदायिक विद्युत संस्थालाई नेपाल विद्युत प्राधिकरणको मातहतमा ल्याई विद्युत सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारसँग माग गरे ।

पर्वतमा पछिल्लो समय विद्युत कटौतीको समस्या बढ्दै जाँदा सर्वसाधारण, व्यवसायी, विद्यार्थी तथा सरकारी कार्यालयहरू समेत प्रभावित बनेका छन् । जिल्लावासीले विद्युत आपूर्ति प्रणालीलाई भरपर्दो र नियमित बनाउन सम्बन्धित निकायसँग माग गर्दै आएका बेला सांसद भुसालले संसदमै विषय उठाएपछि समस्या समाधानतर्फ सरकारी पहल हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति २६ श्रावण २०८३, मंगलवार ०८:५३