विहादी गाउँपालिकाद्वारा निःशुल्क लोकसेवा तथा शिक्षक सेवा आयोग तयारी कक्षा सञ्चालन

गण्डकी संचार (पर्वत) । पर्वतको विहादी गाउँपालिकाले लोकसेवा आयोग तथा शिक्षक सेवा आयोगको परीक्षाको तयारी गरिरहेका युवायुवतीका लागि निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्ने तयारी गरेको छ।

गाउँपालिका क्षेत्रभित्रका नागरिकको सरकारी सेवा क्षेत्रमा न्यून सहभागिता बढाउने तथा आर्थिक रूपमा विपन्न र जेहेन्दार नागरिकलाई शैक्षिक तथा रोजगारीका अवसरमा पहुँच सहज बनाउने उद्देश्यले निःशुल्क कक्षा सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाद्वारा जारी सूचनाअनुसार कक्षामा सहभागी हुन इच्छुक योग्य नागरिकले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र गाउँपालिकाको कार्यालयमा आवेदन दिन सक्नेछन्। सूचनामा भनिएको छ, “तपाईंहरूको क्षमता वृद्धि गरी आयोगका परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्न मद्दत पुर्‍याउने यस अवसरको लाभ सबैले उठाउनुहुन अनुरोध गर्दछौँ।”

गाउँपालिकाले हाल सेवा प्रवाह गरिरहेका गाउँपालिकाभित्रका शिक्षक तथा कर्मचारीले समेत उक्त अवसर प्राप्त गर्न सक्ने जनाएको छ।

गाउँपालिका अध्यक्ष परविन गुरुङले योग्य र सक्षम जनशक्ति उत्पादन गरी सरकारी सेवामा स्थानीय नागरिकको पहुँच बढाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए। उनले विगतका वर्षहरूमा सञ्चालन गरिएका यस्ता कक्षाबाट सकारात्मक परिणाम प्राप्त भएकाले यस वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिइएको उल्लेख गरे। “स्थानीय युवाहरूलाई प्रतिस्पर्धी बनाउन र सरकारी सेवामा आकर्षित गर्न गाउँपालिकाले आवश्यक सहयोग गर्दै आएको छ,” अध्यक्ष गुरुङले भने।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमनबहादुर रेश्मीले गाउँपालिकाले विगतदेखि नै निःशुल्क तयारी कक्षा सञ्चालन गर्दै आएको जानकारी दिए। उनले यस कार्यक्रमले विशेषगरी आर्थिक अभावका कारण तयारी कक्षा लिन नसकेका युवायुवतीलाई ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे।

विहादी गाउँपालिकाले युवाको क्षमता अभिवृद्धि, रोजगारी तथा सार्वजनिक सेवामा पहुँच विस्तारका लागि यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।

प्रकाशित मिति २६ श्रावण २०८३, मंगलवार ०२:४५