सर्वपक्षीय सहमतिपछि कुश्मा बसपार्क नियमित सञ्चालनमा

गण्डकी संचार (पर्वत) । पटक–पटकको विवाद र यातायात व्यवसायीहरूको असहयोगका कारण पूर्ण रूपमा सञ्चालन हुन नसकेको कुश्मा बसपार्क अब नियमित रूपमा सञ्चालन हुने भएको छ । पर्वत सदरमुकाम कुश्मा बजारको बान्द्रेबिडीस्थित बसपार्क सञ्चालनका विषयमा सरोकारवालाबीच भएको छलफलपछि सर्वपक्षीय सहमति जुटेसँगै नियमित सञ्चालनको बाटो खुलेको हो ।

बुधबार जिल्ला प्रशासन कार्यालय पर्वतमा आयोजित बैठकमा यातायात व्यवसायी, कुश्मा नगरपालिकाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, पत्रकार, सुरक्षा निकाय तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो । बैठकले बसपार्कलाई यसको मूल उद्देश्यअनुसार व्यवस्थित रूपमा सञ्चालन गर्दै ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने र शहरी क्षेत्रको पार्किङ व्यवस्थापनलाई चुस्त बनाउने निर्णय गरेको छ ।

निर्णयअनुसार अब सबै प्रकारका सार्वजनिक सवारीसाधन अनिवार्य रूपमा बसपार्कभित्र प्रवेश गर्नुपर्नेछ । यात्रु चढाउने र ओराल्ने कार्य पनि बसपार्कबाटै गर्नुपर्ने व्यवस्था गरिएको छ । यसअघि बसपार्कबाट छुटेका सवारीसाधनलाई १० मिनेटसम्म शिवालय चोकमा लाइन बस्न दिने व्यवस्था रहेकामा अब उक्त व्यवस्था हटाइएको छ ।

त्यस्तै सडकमा जथाभावी पार्किङ गरिएका वा रोकिएका सार्वजनिक सवारीसाधनमाथि जरिवाना तथा ‘ह्विल लक’ लगाउने व्यवस्था कार्यान्वयन गरिने भएको छ । अन्य जिल्लाबाट आवतजावत गर्ने सबै सार्वजनिक सवारीसाधनलाई समेत अनिवार्य रूपमा बसपार्कभित्र प्रवेश गराइने निर्णय गरिएको छ ।

६ करोड ६६ लाख ३ हजार २५० रुपैयाँ लागतमा निर्माण गरिएको बसपार्कमा दुई स्थानमा सवारी पार्किङको व्यवस्था गरिएको छ । बसपार्क परिसरमा दुईतले भवन, टिकट काउन्टर, यात्रु प्रतीक्षालय, शौचालय तथा व्यावसायिक प्रयोजनका लागि आधा दर्जन सटरसहितका कोठा निर्माण गरिएका छन् ।

कुश्माबाट दैनिक काठमाडौं, पोखरा, सुनौली, विराटनगर, नेपालगञ्ज, भैरहवा, काकडभिट्टालगायत गन्तव्यमा सार्वजनिक सवारीसाधन सञ्चालन हुँदै आएका छन् । साथै बागलुङ, म्याग्दी, मुस्ताङ र रुकुमतर्फ जाने हजारौं यात्रु तथा सवारीसाधनको प्रमुख ट्रान्जिट बिन्दुका रूपमा कुश्मा रहँदै आएको छ । नियमित बसपार्क सञ्चालनसँगै शिवालय चोक र मध्यपहाडी लोकमार्ग क्षेत्रमा देखिने अव्यवस्थित पार्किङ समस्यामा समेत सुधार आउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति २१ श्रावण २०८३, बिहीबार ००:४८