गण्डकी संचार (पर्वत) । नेपाल भेटेरिनरी एसोसिएसनले अन्तर्राष्ट्रिय सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यसहित विश्व तथा क्षेत्रीय भेटेरिनरी संस्थाहरूसँग महत्वपूर्ण समझदारी गरेको छ। विश्व भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा. इसाओ कुराउचीको नेपाल भ्रमणका क्रममा उक्त सहकार्यको औपचारिक सुरुआत गरिएको हो।
नेपाल भेटेरिनरी एसोसिएसन, फेडेरेसन अफ एसियन भेटेरिनरी एसोसिएसन (एफएभिए)–वन हेल्थ फुकुओका अफिस तथा जापान भेटेरिनरी मेडिकल एसोसिएसनबीच भेटेरिनरी शिक्षा, अनुसन्धान, जनस्वास्थ्य तथा ‘वन हेल्थ’ अवधारणाको प्रवर्द्धनका क्षेत्रमा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ।
समझदारीपत्रमा नेपाल भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा. केदार सुवेदी तथा साझेदार संस्थाका तर्फबाट विश्व भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा. इसाओ कुराउचीले हस्ताक्षर गरेका थिए। सम्झौताले प्राविधिक ज्ञान आदान–प्रदान, क्षमता विकास, संयुक्त तालिम, सेमिनार, अनुसन्धान तथा प्राविधिक सहयोगका कार्यक्रम सञ्चालन गर्ने आधार तयार गरेको छ।
समझदारी कार्यान्वयनपछि नेपालका भेटेरिनरी चिकित्सकहरूको दक्षता अभिवृद्धि हुनुका साथै पशु स्वास्थ्य सेवा, खाद्य सुरक्षा र जनस्वास्थ्य संरक्षणमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।
नेपाल भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा. सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विश्व भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा. कुराउचीसहितको प्रतिनिधिमण्डल, कृषि, वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. रामनन्दन तिवारी, नेपाल भेटेरिनरी काउन्सिलका अध्यक्ष डा. हेमराज अवस्थी, नेपाल कृषि अनुसन्धान परिषद्की वरिष्ठ वैज्ञानिक डा. निना अमात्य तथा भेटेरिनरी क्षेत्रका विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै एसोसिएसनका महासचिव डा. शंकर न्यौपानेले उक्त समझदारीलाई नेपालको भेटेरिनरी क्षेत्रका लागि कोसेढुङ्गा सावित हुने बताए। उनले अन्तर्राष्ट्रिय सहकार्यबाट प्रविधि हस्तान्तरण, अनुसन्धान विस्तार, दक्ष जनशक्ति उत्पादन तथा ‘वन हेल्थ’ अवधारणाको प्रभावकारी कार्यान्वयनमा नयाँ अवसर खुल्ने विश्वास व्यक्त गरे।
एसोसिएसनले विश्व भेटेरिनरी एसोसिएसन, जापान भेटेरिनरी मेडिकल एसोसिएसन तथा एफएभिए–वन हेल्थ फुकुओका अफिसप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि अन्तर्राष्ट्रिय साझेदारीलाई निरन्तरता दिँदै नेपालको भेटेरिनरी सेवा तथा जनस्वास्थ्य क्षेत्रको विकासमा योगदान पुर्याउने प्रतिबद्धता जनाएको छ।
प्रकाशित मिति २१ श्रावण २०८३, बिहीबार १४:३२


