फलेवास रित्तिँदैः एक वर्षमै ४७३ नागरिकको पलायन

गण्डकी संचार (पर्वत) । जिल्लाको फलेवास नगरपालिकाबाट पछिल्लो एक वर्षमा चार सय ७३ जना नागरिक बसाइँसराइ गरी अन्यत्र गएको तथ्यांक सार्वजनिक भएको छ । आर्थिक वर्ष २०८२/०८३ मा नगरपालिकाका विभिन्न वडाबाट १४२ घरपरिवार स्थायी रूपमा आफ्नो पुर्ख्यौली थातथलो छाडेर अन्य स्थानमा बसाइँ सरेका हुन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईका अनुसार सोही अवधिमा २१ परिवारका ५३ जना भने फलेवास फर्किएका छन्। अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा नगरपालिकाबाट ५२५ जना बसाइँसराइ गरी बाहिरिएका थिए।

तथ्यांकअनुसार वडा नं. ११ बाट सबैभन्दा धेरै परिवार विस्थापित भएका छन् भने वडा नं. ५ खानीगाउँबाट सबैभन्दा कम बसाइँसराइ भएको छ। नगरपालिकाका प्रवक्ता अच्युत तिवारीले आसन्न निर्वाचन, सेवा–सुविधाको पहुँच र मताधिकार व्यवस्थापनका कारण पनि बसाइँसराइको संख्या बढेको बताउनुभयो।

स्थानीयका अनुसार शिक्षा, स्वास्थ्य, यातायात तथा रोजगारीका अवसरको खोजीमा युवापुस्ता गाउँ छाड्ने क्रम तीव्र बन्दै गएको छ। नगरका पञ्जिकाधिकारी ऋषिराम शर्माले बसाइँसराइ गर्ने अधिकांश नागरिक पोखरा, काठमाडौं, चितवन, बुटवल र बर्दियातर्फ जाने गरेको जानकारी दिनुभयो।

बसाइँसराइसँगै गाउँको जनसांख्यिक संरचनामा पनि असर देखिन थालेको छ। गत आर्थिक वर्षमा नगरपालिकामा ६९४ जन्मदर्ता हुँदा २९३ मृत्युदर्ता भएका छन्। त्यस्तै २८६ विवाह दर्ता र २६ सम्बन्धविच्छेद दर्ता भएका छन्।

शर्माका अनुसार २४ हजार ६७८ जनसंख्या रहेको फलेवासमा वर्षेनी बसाइँसराइको दर बढ्दो क्रममा छ। वैदेशिक रोजगारी, उच्च शिक्षा र रोजगारीका अवसरको अभावले गाउँबाट जनशक्ति बाहिरिने क्रम रोकिएको छैन।

फलेवासमा बसाइँसराइको निरन्तर बढ्दो दरले विकासका सूचकमा सुधार भए पनि जनसंख्या व्यवस्थापन, कृषि उत्पादन, श्रमशक्ति र सामाजिक संरचनामाथि दीर्घकालीन चुनौती थपिएको संकेत गरेको छ। स्थानीय सरकारका लागि अब पूर्वाधार निर्माणसँगै नागरिकलाई गाउँमै टिकाइराख्ने नीति र कार्यक्रम प्रभावकारी बनाउने दबाब बढेको छ।

प्रकाशित मिति २४ श्रावण २०८३, आईतवार ०३:२४