विहादी : किसानको मासिक ५०० बचतमा गाउँपालिकाको २५० रुपैयाँ अनुदान

गण्डकी संचार (पर्वत) । कृषि पेशालाई सम्मानित, व्यवस्थित र आकर्षक बनाउने उद्देश्यसहित पर्वतको विहादी गाउँपालिकाले सञ्चालन गर्दै आएको ‘एक घर एक कृषक खाता’ कार्यक्रमप्रति किसानको आकर्षण बढ्दै गएको छ । किसानलाई बचत संस्कृतिसँग जोड्दै भविष्यमा आर्थिक रूपमा सबल बनाउने लक्ष्यका साथ गाउँपालिकाले तिन वर्षअघि सुरु गरेको कृषक कल्याणकारी बचत कोष कार्यक्रमलाई चालु आर्थिक वर्षमा समेत निरन्तरता दिएको हो ।

कार्यक्रमअन्तर्गत सहभागी किसानले मासिक पाँच सय रुपैयाँ बचत गर्नुपर्ने व्यवस्था छ भने गाउँपालिकाले थप २५० रुपैयाँ अनुदान उपलब्ध गराउँछ । गाउँपालिकाले चालु आर्थिक वर्षमा पहिलो चरणमा दई सय किसानलाई कार्यक्रममा आबद्ध गर्ने लक्ष्य लिएको छ । हालसम्म ५१ जना किसान नियमित रूपमा बचत कार्यक्रममा सहभागी भइसकेका छन् । कार्यक्रममा आबद्ध किसानले पाँच वर्ष पूरा भएपछि आफ्नो बचत रकम निकाल्न पाउने व्यवस्था गरिएको छ ।

गाउँपालिका अध्यक्ष परविन गुरुङले कृषि पेशालाई जीविकोपार्जनको मुख्य आधार बनाएका किसानलाई प्रोत्साहन गर्न कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँका अनुसार किसानलाई बचतसँग जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने र कृषिप्रति युवाको आकर्षण बढाउने उद्देश्यले कार्यक्रम अघि बढाइएको हो । ‘कृषिमा संलग्न किसानलाई बचतसँग जोड्दै भविष्यमा आर्थिक रूपमा सबल बनाउने हाम्रो उद्देश्य हो,’ अध्यक्ष गुरुङले भन्नुभयो, “यस कार्यक्रमले किसानमा बचत गर्ने बानीको विकास हुनुका साथै कृषि पेशाप्रति थप आकर्षण बढ्ने विश्वास लिएका छौं ।”

कार्यक्रममा सहभागी हुन १८ वर्ष पूरा भई ६५ वर्ष ननाघेका, नेपाल सरकारका कुनै पनि निकायमा स्थायी रोजगारीमा संलग्न नभएका तथा विहादी गाउँपालिकामा स्थायी बसोबास गर्दै आएका किसान हुनुपर्ने व्यवस्था गरिएको छ ।

कृषक कल्याणकारी बचत कोष कार्यक्रममा सहभागी हुन इच्छुक किसानले सम्बन्धित वडा कार्यालयमा पुगेर आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ। आवेदनका लागि नेपाली नागरिकताको प्रतिलिपि, जग्गाधनी प्रमाणपुर्जा, मालपोत कर तिरेको रसिद, विद्युत् वा खानेपानी महसुल तिरेको रसिद, सम्बन्धित वडा कार्यालयको सिफारिस तथा पासपोर्ट साइजका दुई प्रति फोटो आवश्यक पर्ने गाउँपालिकाले जनाएको छ ।

विहादी गाउँपालिका कृषि विकास शाखाका अनुसार चालु आर्थिक वर्ष २०८३÷८४ को स्वीकृत कार्यक्रमअन्तर्गत कृषक कल्याणकारी बचत कोष सञ्चालनका लागि २ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । स्थानीय किसानले गाउँपालिकाको यो पहलले बचत गर्ने बानीको विकास हुनुका साथै कृषि पेशाप्रति विश्वास र उत्साह बढाएको बताएका छन् । पछिल्लो समय कृषि क्षेत्रबाट युवाको पलायन बढिरहेका बेला यस्ता कार्यक्रमले कृषिलाई व्यवसायिक, उत्पादनमुखी र सम्मानित पेशाका रूपमा स्थापित गर्न टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति २१ श्रावण २०८३, बिहीबार ०२:४७