राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको केन्द्रीय सदस्यमा गायक कृष्ण अखेली मनोनीत

पर्वत — राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्यमा चर्चित लोकदोहोरी गायक कृष्ण अखेली मनोनीत भएका छन्।

बुधबार बसेको प्रतिष्ठानको केन्द्रीय कमिटी बैठकले अखेलीलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो। प्रतिष्ठानका केन्द्रीय अध्यक्ष पशुपति शर्माको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको जनाइएको छ। गायक अखेली लामो समयदेखि नेपाली लोक तथा दोहोरी गीतसंगीतको क्षेत्रमा क्रियाशील रहँदै आएका छन्।

तत्कालीन धौलागिरि अञ्चलमा प्रतिष्ठानको विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका अखेलीले गण्डकी प्रदेश सचिवालय सदस्यको जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन्। प्रतिष्ठानमा लामो समयको अनुभव र योगदान बटुलेका अखेलीको मनोनयनले उनको सांगीतिक तथा संस्थागत यात्रामा थप जिम्मेवारी थपिएको छ।

सदस्यमा मनोनीत भएपछि अखेलीले आफूलाई विश्वास गरी जिम्मेवारी प्रदान गर्ने प्रतिष्ठानका केन्द्रीय नेतृत्व तथा सम्पूर्ण अग्रजहरूप्रति आभार व्यक्त गरेका छन्।

प्रकाशित मिति १९ कार्तिक २०८३, बुधबार १६:२६