काठमाडौं, भदौ १३ । विपद्, दुर्घटना तथा अन्य आकस्मिक घटनामा मृत्यु भएका व्यक्तिको पहिचान, अभिलेखीकरण र व्यवस्थापनलाई थप व्यवस्थित, सुरक्षित तथा विश्वसनीय बनाउन नयाँ कार्यविधि कार्यान्वयनमा जोड दिइएको छ।
कार्यविधिअनुसार प्रत्येक शवलाई छुट्टै ‘युनिक बडी कोड’ (Unique Body Code) प्रदान गरिनेछ। शव भेटिएको स्थान, मिति, समय, अवस्था तथा अन्य आवश्यक विवरण अभिलेख राखिने व्यवस्था गरिएको छ। साथै शवको पूर्ण शरीर, अनुहार, धड र तल्लो भागको आवश्यक फोटो खिची सुरक्षित रूपमा राखिनेछ।
शवसँग भेटिएका व्यक्तिगत सामानको अभिलेख राख्ने, बडी ट्याग (Body Tag) र एभिडेन्स स्केल (Evidence Scale) प्रयोग गर्ने तथा खोजीदेखि अन्तिम व्यवस्थापनसम्म ‘चेन अफ कस्टडी’ (Chain of Custody)कायम गर्ने व्यवस्था पनि कार्यविधिमा समेटिएको छ।
परिवारसँग संवेदनशील र सम्मानजनक संवाद गर्ने, सञ्चारमाध्यमलाई तथ्यमा आधारित आधिकारिक जानकारी उपलब्ध गराउने तथा मृतकका परिवारलाई मनोसामाजिक, कानुनी र आवश्यक सहयोग प्रदान गर्ने विषयलाई समेत प्राथमिकता दिइएको छ।
सम्बन्धित निकायलाई शवको फोटो, पहिचान वा व्यक्तिगत विवरण सामाजिक सञ्जालमा अनावश्यक रूपमा सार्वजनिक नगर्न निर्देशन दिइएको छ। गलत सूचना, अनुमान र अपुष्ट विवरणले पीडित परिवारमा थप पीडा पुग्न सक्ने भएकाले गोपनीयता र मानवीय संवेदनशीलता कायम गर्न विशेष जोड दिइएको छ।
कार्यविधिले “एक शव, एक कोड, एक रेकर्ड” को अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै सही पहिचान, प्रमाण संरक्षण र परिवारको अधिकार सुनिश्चित गर्ने लक्ष्य लिएको जनाएको छ। अधिकारीहरूले शवको सम्मानजनक व्यवस्थापनलाई मृतकप्रतिको सम्मान र परिवारको न्याय सुनिश्चित गर्ने महत्वपूर्ण दायित्वका रूपमा लिनुपर्ने बताएका छन्।
प्रकाशित मिति १३ भाद्र २०८३, शनिबार १४:२४


