कांग्रेस नेतृत्वमा ‘अर्ली इलेक्सन’विकल्प

कांग्रेसले पार्टीको महाधिवेशन गरी समयसापेक्ष ऊर्जाशील नेतृत्व स्थापित गरेर अबको निर्वाचनमा युवा मतदाताको विश्वास जित्ने बाटोतर्फ अग्रसर हुनुपर्छ

राजनीतिक नेतृत्वले मुलुकलाई नेतृत्व दिन सकेन भने सधैं अस्थिरता हुन्छ भन्ने पछिल्लो उदाहरण नेपाल बनेको छ। संसद्मा झन्डै दुईतिहाइ सदस्य संख्या हुँदा पनि त्यसलाई सत्तासीन कम्युनिस्ट पार्टीले जोगाउन सकेन। प्रधानमन्त्रीले संसद् विघटन गरेपछि उत्पन्न पार्टीभित्रको आन्तरिक विवादका कारण नेकपा फुटको संघारमा पुगिसकेको थियो। सैद्धान्तिक धरातल एकताको आधार बनेको थियो भने सर्वोच्च अदालतले पूर्ववत् अवस्थामा फर्काइदिँदा पनि केही फरक पर्ने थिएन। कानुनी रूपमा नफुटे पनि व्यावहारिक रूपमा फुटिसकेको नेपाल कम्युनिस्ट पार्टीलाई सर्वोच्चको फैसलाले विधिवत् बाटो फुकाइदियो। नेकपा एमाले र नेकपा माओवादी एकताअघिको पूर्ववत् अवस्थामा फर्किएका छन्। यसबाट सन्तुष्ट हुनेभन्दा नहुनेको संंख्या बढी छ। फैसलापछि दुई भएका पार्टी नै एक भएर संसद्को बाँकी कार्यकाल सरकार चलाउने आधार उनीहरूकै क्रियाकलापले समाप्त पारिदिएको छ।

यतिबेला संसद्को प्रतिपक्षमा रहेको कांग्रेसको भूमिकाको खोजी हुन थालेको छ। कम्युनिस्ट पार्टीबीच समीकरणको सम्भावना समाप्त भएकाले कांग्रेस र जनता समाजवादी पार्टीको महŒव पनि बढेको छ। यो महŒवलाई कांग्रेसले देश, जनता र लोकतन्त्रका पक्षमा उपयोग गर्न सक्नुपर्छ। कसैले फ्याँकेको सत्ता साझेदारीको हिस्सेदार मात्र बन्नुभन्दा आमनागरिकले प्रश्न नउठाउने र पार्टीको भविष्य पनि सुनिश्चित हुने सहज बाटो तय गर्नु कांग्रेसको जिम्मेवारी हुनुपर्छ। सत्ताका लागि मात्र सत्तामा जाने हो भने कांग्रेसका नाममा राजनीति गर्न चाहने भविष्यको पुस्तालाई समेत ठूलो चोट पुर्‍याउनेछ। नागरिकले पाँच वर्षका लागि प्रतिपक्षमा बस्ने म्यान्डेट दिए पनि परिस्थितिले छिटै सरकारमा लैजाने वातावरण बनाएको अर्थमा मात्र नलिएर लोकतन्त्र, पार्टी र मुलुकको उन्नत भविष्यको पक्षमा काम गर्ने सर्तमा सत्तामा जानुपर्छ।

सरकारमा जाने पार्टीले निर्णय गर्‍यो भने नेतृत्वको दाबीसहित ‘अर्लि इलेक्सन’ को सर्तमा सरकारमा जानुपर्छ। तर आउँदो निर्वाचनअघि नै पार्टीको महाधिवेशन गरेर नयाँ र ऊर्जाशील नेतृत्व चयन गर्ने हो भने त्यसले अबको निर्वाचनमा थपिने झन्डै ४० लाख नयाँ मतदाताको विश्वास जित्न सकिनेछ। अघिल्लो निर्वाचनमा टुटेको नागरिकसँगको सम्बन्ध फेरि जोडिनेछ। विगतमा रुस्ट बनेको नागरिक समाज र आम प्रजातन्त्रवादीले पनि कांग्रेसलाई यस्तै सुझाव र सल्लाह दिन थालेका छन्। जुन कांग्रेसका लागि उत्तम बाटो पनि हुनेछ।

कांग्रेसले पेसागत संघसंगठन र आम प्रजातन्त्रवादीको विश्वास पनि गुमाइसकेको अवस्था थियो। प्रजातन्त्रका पक्षमा वकालत गर्ने तर कांग्रेससँग टाढिएको बौैद्धिक जगत् पनि यतिबेला कांग्रेसबारे बोल्न थालेको छ। हिजोसम्म कम्युनिस्टहरूको पनि नेतृत्व लिँदै आएको कांग्रेस आज कम्युनिस्टको खेलौना बन्यो भन्ने आरोप पनि नेतृत्वले खेप्दै आएको थियो। त्यो आरोपको प्रतिवादका लागि पनि व्यवहारतः मुलुकको नेतृत्वदायी भूमिकाका लागि मार्गप्रशस्त गर्न महाधिवेशनको मिति तय गरेर नयाँ नेतृत्व स्थापित गर्न कांग्रेस अग्रसर हुनुपर्छ।

नेपाली कांग्रेसले मिलिजुली सरकार बनाउने खेलमा लाग्नुभन्दा आफ्नै नेतृत्वमा सरकार बनाएर ‘अर्ली इलेक्सन’ मा जाने वातावरण निर्माण गर्नुपर्छ
 

राजनीतिक संगठन भनेका जनइच्छा प्रकट गर्ने माध्यम हुन्। जनइच्छा पूरा गर्ने बाटोबाट सुविधाजनक बहुमतसहित सत्तासीन भएका कम्युनिस्ट अलग हुँदैछन्। जनताको मतबाट त्यो ठाउँ लिन कांग्रेसले एक ढिक्का भएर पहल गर्नुपर्छ ससाना आन्तरिक विवादमा रुमलिनु हुँदैन। संकटका बेला एक ढिक्का भएर नागरिकसँग नजिक हुने खालका गतिविधि गर्न सकियो भने त्यो दीर्घकालीन र प्रभावकारी हुनेछ। नागरिकसँग टुटेको सम्बन्ध जोड्ने यो सुवर्ण मौका कांग्रेसले चुकाउनु हुँदैन।

नेपालको इतिहासमा कांग्रेसको सम्मानजनक स्थान छ। फेरि एकपटक इतिहासले दिएको त्यो इज्जत जोगाउन बेला आएको छ। बीपी, गणेशमान, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको पुस्ताले दिएको बलिदानबाट बनेको इज्जतमा लागेको दाग पखाल्न सत्ताको चास्नीमा नभई मुलुक र लोकतन्त्रको मुद्दामा उल्लेख्य भूमिका निर्वाह गर्नुपर्छ। किनकि अघिल्लो पुस्ताले हासिल गरेका विश्वव्यापी लोकतान्त्रिक मान्यता र प्रतिष्ठाको ब्याज खाएर अब थपिने नयाँ मतदाताको विश्वास जित्न सकिन्न।

समय र परिस्थिति धेरै बदलिएको छ। नागरिकको चेतनास्तर माथि उक्लिएको छ। नयाँ युवा पुस्ताले मुलुकमा गरिखाने अवस्था बनोस् भन्ने चाहेको छ तर कांग्रेसले ०७ सालमा हामीले क्रान्ति गरेका थियौं भनेर युवाको विश्वास जित्न खोज्छ भने कसरी सम्भव छ ? नयाँ पुस्तालाई सम्बोधन हुने खालका कुनै पनि गतिविधि कांग्रेसबाट नभएकैले कम्युनिस्टले बाँडेका सपनाकै भरमा दुईतिहाइ मत पाए। अब कांग्रेसले नयाँ नेतृत्व स्थापित गरेर युवाको विश्वास जित्ने बाटोतर्फ अग्रसर हुनुपर्छ। नयाँ दृष्टिकोणसहितको रणनीति तय नभएसम्म पार्टीप्रति आकर्षण बढ्न सक्दैन। त्यसका लागि नयाँ पुस्ताको मान्यता पाउन पार्टीलाई सैद्धान्तिक रूपमा नवीकरण गर्न जरुरी छ।

हो, प्रत्येकपटकको संसद् विघटनले मुलुक, नागरिक र लोकतन्त्रलाई घाटा भएको छ। यसैको प्रतिफल थियो– संविधानसभाबाट संविधान बनाउने निर्णय। राजनीतिक स्थिरताका लागि प्रधानमन्त्रीको सनकमा संसद् भंग गर्ने अधिकार राख्नु हुँदैन भनेर सबै दलको सहमतिमा संविधान बनाइएको हो। संसद्ले प्रधानमन्त्री बनाउनै सकेन भने मात्रै संसद् विघटन हुन सक्छ भन्ने प्रावधान राखिएको थियो। संसद्ले नयाँ सरकार बनाउन सकेन भने फेरि निर्वाचनमा जानुको विकल्प छैन। लोकतन्त्रको सुन्दर पक्ष भनेकै निर्वाचन हो। त्यसैले नेपाली कांग्रेसले मिलिजुली सरकार बनाउने खेलमा लाग्नुभन्दा आफ्नै नेतृत्वमा सरकार बनाएर ‘अर्ली इलेक्सन’ मा जाने वातावरण निर्माण गर्नुपर्छ। यो अहिलेको उत्तम विकल्प हुन सक्छ। किनकि मिलिजुली सरकार बनाउँदा मुलुकले कति अस्थिरता खेप्नुपर्‍यो भन्ने जगजाहेर छ।

हो, पुनस्र्थापित संसद्मा कम्युनिस्टहरूको बहुमत छ। उनीहरू मिलेर जान सके भने अझै सरकार बनाउने सुविधा उनीहरूसँग नै छ। तर सरकार बनाउन सकेनन् भने हिजो दुई कम्युनिस्ट मिलेर आएको म्यान्डेट अबको आधार बन्न सक्दैन। एमालेको धेरै संख्या भए पनि त्यो संख्याको वैधानिकता समाप्त भइसकेको छ। किनकि एमालेले माओवादीलाई मतदान गरेको थियो भने माओवादीले एमालेलाई। त्यसैले त झन्डै दुईतिहाइ मत पाए।

न्यायपूर्ण, समानतापूर्ण र समृद्ध नेपालको परिकल्पना साकार हुन्छ भन्ने कम्युनिस्ट सपना साकार पार्न नागरिकले सहयोग गरे तर कम्युनिस्ट सरकार बनेको तीन वर्ष पूरा हुँदा पनि देखिनलायक कुनै पनि काम हुन सकेन। आन्तरिक विवादका कारण संसद् विघटनको अवस्थासम्म पुग्यो। विघटनमा केपी ओलीको जति भूमिका थियो, त्योभन्दा बढी भूमिका प्रचण्डको छ। कम्युनिस्टले अवसर पाउँदा पनि केही गर्न सक्दा रहेनछन् भन्ने प्रस्ट भएको छ। समस्या सिर्जना गर्न सक्ने तर समाधान गर्न नसक्ने कम्युनिस्टको वैशाखी बन्नुभन्दा कांग्रेसले तत्काल केन्द्रीय समितिको बैठक बसेर आफ्नै नेतृत्वमा चुनावी सरकार गठनका लागि पहल गर्नुपर्छ। संविधानको रक्षा र लोकतन्त्रको सुरक्षाको विकल्प पनि यही हो। शोभा अधिकारीद्धारा निखित विचार हामीले अन्नपूर्ण पोष्टवाट सभार गरेका हौँ ।

प्रकाशित मिति २ चैत्र २०७७, सोमबार ००:३९