रचना रिमाल : छोटो समयमै एक हजार बढी गीतमा गुञ्जिएको स्वर

काठमाडौं । ‘फोटो फिरिममा, कहिले मिलन कहिले बिछोड मया पिरिममा…।’

रचना रिमालको स्वरमा सार्वजनिक यो गीत निकै रुचाइयो । गीतसँगै गायिका रचनाको स्वरको पनि उत्तिकै प्रशंसा भयो । उनलाई एकपछि अर्को गीतको अफर आउन थाल्यो । एउटा होइन, दुइटा होइन । पाँच, दश हुँदै गीत अफरको संख्या ३५ पुगिसक्यो । तर, गीत रेकर्डिङ गर्नका लागि रचना काठमाडौंमा थिइनन् ।

यो २१ महिना अगाडिको कुरा थियो । ‘फोटो फिरिममा’ गीत सार्वजनिकसँगै उनी आफ्नो घर झापा चन्द्रगढी फर्किएकी थिइन् । कोरोना महामारीका कारण लकडाउन जारी भएको केही समय भइसकेको थियो । ‘केही दिनमा आइहाल्छु, अनि गाउँछु ल !’ अफर गर्नेहरु सबैलाई यसै भनिरहेकी थिइन् रचना ।

जसोतसो बन्दोबस्त मिलाएर उनी केही दिनमा काठमाडौं आइन् । तय भएकामध्ये अधिकांश गीत पालैपालो रेकर्डिङ गर्न थालिन् । जति-जति गीत रेकर्डिङ गराउँदै गइन्, नयाँ गीतका अफरहरु अझ बढ्न थाले ।

तीज नजिकियो । ‘आयौं चेली’ बोलको तीज गीतमा स्वरसँगै अभिनय गरिन् । गीत रुचाइयो, रचनाको व्यस्तता झन्-झन् बढ्यो । यस्तो समय आयो, एकैदिन ३-४ वटा गीत रेकर्डिङ गर्नुपर्ने ।

उनका गीतको संख्या बढ्यो, धमाधम सार्वजनिक हुन पनि थाले । एकपछि अर्को गीत स्रोता-दर्शकले रुचाउँदै गए ।

‘मिनरल वाटर’, ‘पहिलो पल्ट भेट हुँदा’ जस्ता गीतहरु रुचाइए । राष्ट्रकवि माधवप्रसाद घिमिरेको रचना र नारायण रायमाझीको संगीतमा प्रविन बेडवालसँग गाएको ‘उनको प्रीति’ बोलको गीत त निक्कै चर्चित भयो ।

‘नमुछे आमा दहीमा टीका’को नयाँ भर्सन, ‘सुनन पियारी’ ‘चाहन्छु’, ‘सम्झिनी पानी छम्किनी’, ‘भन साइँला’ जस्ता उनका थुप्रै गीतहरु पनि रुचाइएका छन् ।

त्यसो त, रचनाले सांगीतिक करिअर शुरु गरेको लामो समय पनि भएको छैन । आफ्नो पहिलो चर्चित गीत ‘फोटो फिरिममा’ सार्वजनिक भएको दुई वर्ष नहुँदै उनको स्वर एक हजारभन्दा बढी गीतमा गुञ्जिइसकेको छ । १८ वर्षको सानो उमेरमै र छोटो अवधिमै रचनाले पाएको सफलता साँच्चिकै लोभलाग्दो छ ।साभार–अन्लाईन खवरवाट

प्रकाशित मिति १८ पुष २०७८, आईतवार ०१:३५