जनकपुर बोल्ट्सको च्याम्पियन शैली

गण्डकी संचार ।नेपाली खेलकुद इतिहासमै सबैभन्दा ठूलो स्पोर्टिङ इभेन्ट मानिएको नेपाल प्रिमियर लिग ९एनपीएल० को उपाधि जनकपुर बोल्ट्सले जितेसँगै शनिबार सकिएको छ ।

आयोजना, पुरस्कार राशी, सहभागी टिमको संख्या, लगानी अनि विदेशी खेलाडीहरुको आगमन र प्रदर्शनले पनि यसलाई अहिलेसम्मकै ठूलो खेल महोत्सवको रुपमा लिइएको छ । जहाँ जनकपुर बोल्ट्सले बाँकी ७ टिमलाई पछि पार्दै च्याम्पियन बन्यो ।

फाइनलमा जनकपुरले सुदूरपश्चिम रोएल्सलाई ५ विकेट हरायो । यसको नायक बने लाहिरु मिलान्था । ओपनर मिलान्थाले ८५ रनको सानदार पारी खेलेपछि सुदूरले दिएको १८५ रनको लक्ष्य जनकपुरले ४ बल अगावै ५ विकेट गुमाएर पूरा गर्दै पहिलो संस्करणको उपाधि आफ्नो नाममा लेखायो ।

त्रिवि क्रिकेट मैदानमा आयोजित समारोहबीच पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाले विजेता जनकपुरलाई ट्रफी हस्तान्तरण गरे ।

काठमाडौंको धरहरा परिसरमा मंसिर १० गते एनपीएल ट्रफी अनावरण गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले अनावरण गरेको यो ट्रफीमा सर्वोच्च शीखर सगरमाथा आधार शिविर क्षेत्र कालापत्थरको ढुंगा प्रयोग गरिएको छ ।

आयोजक क्यान सचिव पारस खड्काले एनपीएलको मुख्य आकर्षण खेलसँगै ट्रफी पनि रहेको बताएका थिए । हुन पनि ट्रफीको प्रयोग भएको कालापत्थरको ढुंगाले त्यतिबेलै सबैको ध्यान खिचेको थियो । ट्रफीलाई केवल खेलको हारजितसँगमात्र जोड्ने नभइ हिमाल संरक्षणको सन्देश दिन पनि सर्वोच्च स्थानको ढुंगा जडान गरिएको उनको भनाइ थियो ।

ट्रफीमा प्रयोग भएको ढुंगा आरोहीद्वय निमा शेर्पा र मिङ्मा शेर्पाले ल्याएका हुन् । ट्रफी अनावरण कार्यक्रममा शेर्पाद्वयलाई सम्मान गरिएको थियो । मंसिर १६ गतेदेखि भएको नेपाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिता आज सकिएको छ ।

प्रकाशित मिति ७ पुष २०८१, आईतवार ००:२५