गण्डकी संचार (पर्वत) । स्वदेशमा सम्भावना नदेखेर धेरै युवा दिनप्रतिदिन विदेश पलायन भइरहेका छन् । युवाहरुको मोह विदेशतिर भएको बेला पर्वतका दुई युवाले २ करोड भन्दा बढि लगानी गरेर स्केट पार्क संचालन गरेका छन् ।
स्केट पार्कको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले उद्घाटन गर्नुभएको छ । उद्घाटन गदै नगर प्रमुख जोशीले युवाहरुलाई स्वदेशमै पोत्साहन गर्नुपर्ने बताउनु भयो । उहाँले रोजगारीको सम्भावना नदेखेर हजारौँ युवाहरु विदेश पलायन भएको अवस्थामा आफ्नै ठाउँमा व्यवसाय संचालन गर्नु महत्वपूर्ण कुरा भएको बताउनु भयो । कुश्मा नगरपालिकाले युवाहरुलाई स्वदेशमै रोजगारमुखी बनाउन विभिन्न तालिम दिएको बताउँदै युवाहरुले आफ्नै ठाउँमा सम्भावना खोज्नुपर्ने बताउनु भयो ।उद्घाटन कार्यक्रममा मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी तिमिल्सीना, उपाध्याक्ष विमल लामिछाने, उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर वि पौडेल, पूर्व अध्यक्ष केदरनाथ शर्मा लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
लामो समयदेखि खेल क्षेत्रमा सक्रिय बनेका मोदी गाउँपालिकाका लक्ष्मण श्रेष्ठ र कुश्माका जगदीश सुवेदीले स्केट पार्क संचालनमा ल्याउनुभएको हो । दुवैजना भलिबलको राष्ट्रिय खेलाडीको रुपमा समेत सक्रिय रहँदै आउनुभएको छ । उक्त पर्वत स्केट सदरमुकाम कुश्माबजारको बञ्जि साईडमा खोलिएको हो ।
पछिल्लो समय बालबालिका तथा किशोर किशोरीहरुमा मोवाईल र सामाजिक सञ्जालतर्फको लत बढ्दै गएको र यो खेलतर्फ आकर्षण गर्न सकेमा उनिहरुको स्वास्थ्यमा समेत फाईदा पुग्ला भन्ने उद्धेश्यले स्केटपार्क संचालन गरिएको संचालक लक्ष्मण श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘धौलागिरि क्षेत्रमै नमुना स्केटपार्क संचालन गरेका छौ ।’
पर्वत भलिबल संघका अध्यक्ष रहेका श्रेष्ठ र उपाध्यक्ष रहेका सुवेदीले आफुहरु पनि खेल क्षेत्रमै लागेकाले नयाँ पुस्तालाई खेलकुदतर्फ आकर्षण गर्ने उद्धेश्यले ठुलो लगानी गरेर स्केटपार्क खोलिएको बताउनुभयो । स्केटपार्कमा सानो देखि ठुलो उमेरका मानिहरुले स्केटिङ्ग गरेर मज्जा लिन सक्ने भएका छन् ।

मोबाईल, टिभी लगायतका बस्तुहरुतर्फ बालबालिकाहरुको लत बढ्दा अभिभावकहरु समस्यामा पर्दैै आएका छन् । यसले कम्तीमा दिनको दुई÷ तीन घण्टा मोवाईलवाट बाहिर राख्न सकिन्छ कि भन्ने हाम्रो उद्धेश्य हो संचालक सुवेदीले भन्नुभयो । उहाँले यसले स्वास्थ्य र कलात्मक प्रस्तुतीलाई बढावा दिनका लागि महत्वपुर्ण भूमिका खेल्ने संचालकहरुको विश्वास रहेको छ ।
स्केटिङका लागि ५ दखि १० हजार मूल्यका ८० जोर जुत्ता ल्याइएको छ । पार्कमा एकैपटक ६० देखि ७० जना सम्मले स्केटिङ्ग गर्न सक्ने भएका छन् ।


