गण्डकी संचार (पर्वत) — मिस नेपाल २०२५ लुना लुइँटेलले आगामी विश्व सुन्दरी प्रतियोगिता ‘मिस वर्ल्ड २०२६’ को तयारीलाई तीव्र बनाउँदै सामाजिक उत्तरदायित्वसँग जोडिएको महत्वपूर्ण विधा ‘ब्यूटी विथ पर्पस’ अन्तर्गत आफ्नो अभियान सुरु गरेकी छन्।यस अभियानअन्तर्गत उनले पर्वतको फलेवास नगरपालिका–५, खानीगाउँलाई केन्द्र बनाएर स्वास्थ्य, शिक्षा र महिला उद्यमशीलता प्रवर्द्धन गर्ने बहुआयामिक परियोजना अघि बढाएकी छन्।
परियोजनाअनुसार खानी गाउँमा दुना–टपरी उत्पादन कारखाना निर्माणको काम सुरु भइसकेको छ। स्थानीय महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन हुने उक्त फ्याक्ट्रीमार्फत रोजगारी सिर्जना हुनुका साथै आवश्यक औजार र मेसिनसमेत उपलब्ध गराइने लुनाले बताइन्।
स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले स्थानीय जनता आधारभूत विद्यालयमा ९० लाख रुपैयाँ मूल्य बराबरको टेलिमेडिसिन उपकरण जडान गरिने भएको छ। एनसेलको स्याटेलाइट टेलिमेडिसिन परियोजनाअन्तर्गत सञ्चालन हुने यो सेवाबाट धुलिखेल अस्पतालको सपोर्ट क्लिनिकमार्फत स्थानीयवासीले दूर–चिकित्सा सेवा लिन सक्नेछन्।
त्यसैगरी सोही विद्यालयमा पुस्तकालय निर्माण र एक शौचालय निर्माण गर्ने योजना पनि समावेश गरिएको छ। मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारका अनुसार यो सम्पूर्ण परियोजनाका लागि करिब ५५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ।हाल परियोजनाका लागि आर्थिक संकलन कार्य जारी रहेको मिस नेपाल लुना लुइँटेलले जानकारी दिइन्। उनले ‘ब्यूटी विथ पर्पस’सँगै मिस वर्ल्डका अन्य विधाको तयारी पनि सँगसँगै अघि बढाइरहेकी छन्।
‘ब्यूटी विथ पर्पस’ विधामा नेपाल सधैं दाबेदार राष्ट्रका रूपमा हेरिँदै आएको छ। यस विधामा उत्कृष्ट प्रदर्शन गर्न सके सिधै सेमिफाइनलमा प्रवेश गर्ने अवसर प्राप्त हुने व्यवस्था छ।मिस वर्ल्ड २०२६ को आयोजना स्थल र मिति भने अझै तय हुन बाँकी रहेको आयोजकले जनाएका छन्।
प्रकाशित मिति ५ माघ २०८२, आईतवार ०७:१०


