एमालेमा गुटबन्दी, माओवादी कमजोर, रास्वपा सीमित: पर्वतमा काँग्रेस अनुकूल माहोल

गण्डकी सञ्चार (पर्वत)। आगामी प्रतिनिधिसभा निर्वाचनलाई लिएर पर्वत जिल्लाको राजनीतिक समीकरण तीव्र रूपमा बदलिँदै गएको छ । नेकपा एमालेले यसपटक पनि ह्याट्रिक जितको दाउ सहित पदम गिरीलाई नै टिकट दिएपछि पार्टीभित्र गहिरो असन्तुष्टि देखिएको छ । राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेश तिमिल्सिना समूह गिरीसँग असन्तुष्ट देखिएको छ भने जिल्लाका प्रभावशाली नेता विकास लम्साल, पदमपाणि शर्मा, राजु पौडेललगायत आकांक्षीहरू पाखा परेको महसुस गरिरहेका छन् । स्रोतका अनुसार जिल्लास्तरमै एमालेका धेरै नेता–कार्यकर्ता असन्तुष्ट छन्, जसको प्रत्यक्ष असर चुनावी परिणाममा पर्ने आँकलन गरिएको छ ।

गिरीले २०७४ र २०७९ मा विजय हासिल गरे पनि यसपटक परिस्थिति फरक रहेको विश्लेषकहरूको भनाइ छ । लामो समय सत्ताको केन्द्रमा रहे पनि स्थानीय तहमा बढ्दो असन्तुष्टि, कार्यकर्ताबीचको दूरी र गुटगत विवादले एमाले कमजोर अवस्थामा पुगेको देखिन्छ ।

यता माओवादी केन्द्रसँग आबद्ध नेपाली कम्युनिस्ट पार्टीबाट युवा नेता मनहरी तिमिल्सिना (समर) ले टिकट पाएका छन् । केन्द्रीय सदस्य तथा माक्र्सवादी ज्ञान केन्द्रका केन्द्रीय अध्यक्ष रहेका तिमिल्सिना बौद्धिक र वैचारिक व्यक्तित्व भए पनि पार्टी संगठन र जनमत विस्तारमा सीमित देखिन्छन् । सामाजिक सञ्जालमा सक्रिय देखिए पनि माओवादी धार कमजोर बन्दै गएको तथा जनयुद्धकालीन आधार खुम्चिँदै गएको यथार्थले उनीहरूलाई चुनौती थपिएको छ ।
नयाँ शक्ति रास्वपा पनि पर्वतमा निर्णायक प्रभाव जमाउन नसक्ने अवस्थामा देखिएको छ । संगठन कमजोर, स्थानीय नेतृत्व अस्पष्ट र मतदातासँग गहिरो सम्बन्ध नबनिसकेका कारण रास्वपा प्रतिस्पर्धामा पछाडि पर्ने अनुमान गरिएको छ ।

यस्तो अवस्थामा नेपाली काँग्रेसका नेता अर्जुनप्रसाद जोशी पुनः चुनावी मैदानमा उत्रिने चर्चा चलिरहँदा काँग्रेस पक्ष उत्साहित देखिएको छ । जोशी अनुभवी, सरल र जनतासँग प्रत्यक्ष जोडिएका नेता मानिन्छन् । विगतमा पराजय भोगे पनि संगठन विस्तार, निरन्तर जनसम्पर्क र पार्टीभित्रको एकताका कारण यसपटक काँग्रेस बलियो अवस्थामा पुगेको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

काँग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा गगनकुमार थापा चयन भएसँगै पार्टीले नयाँ नेतृत्व पाएको ठहर गर्दै काँग्रेस पर्वत उत्साहित बनेको छ। युवामुखी, सुधारवादी र संगठनात्मक सुदृढीकरणमा जोड दिने नेतृत्व आएको भन्दै जिल्लास्तरका नेता तथा कार्यकर्तामा नयाँ ऊर्जा थपिएको छ।

पर्वत काँग्रेसले गगन थापाको नेतृत्वलाई आगामी निर्वाचनका लागि निर्णायक अवसरका रूपमा लिएको छ। पार्टीभित्र देखिँदै आएको निराशा र निष्क्रियता हट्दै संगठन थप एकताबद्ध हुने अपेक्षा गरिएको छ। नेतृत्व परिवर्तनसँगै पार्टीलाई जनतासँग अझ नजिक पुर्‍याउने र मतदाताको भरोसा पुनः स्थापित गर्ने दिशामा काँग्रेस पर्वत सक्रिय रूपमा अघि बढ्ने संकेत देखिएको छ।

यसले पर्वतको चुनावी समीकरणमा काँग्रेसलाई थप बलियो बनाउने र प्रतिस्पर्धी दलहरूमाथि मनोवैज्ञानिक दबाब सिर्जना गर्ने राजनीतिक विश्लेषकहरूको आकलन छ।

एमालेको आन्तरिक असन्तुष्टि, माओवादीको कमजोर संगठन र रास्वपाको सीमित प्रभावबीच काँग्रेसले पर्वतमा निर्णायक अग्रता लिने सम्भावना बढ्दै गएको छ । यसकारण आगामी निर्वाचन पर्वतमा काँग्रेसका लागि अनुकूल बन्दै गएको संकेत देखिएको छ ।

प्रकाशित मिति ५ माघ २०८२, आईतवार ०७:३९