महिलाको गाउँ, जहाँ पुरुष बस्नै पाउँदैनन्

माघ २४, काठमाडौँ । महिलालाई स्वतन्त्रता प्रदान गर्ने उद्देश्यले उत्तरी सिरियाको कुर्दिस क्षेत्रमा महिला मात्रै बस्ने एउटा गाउँको निर्माण गरिएको छ । जुन गाउँलाई जिन्वार भनिन्छ ।

जिन्वार बस्ती २०१७ मार्च १० बाट बनाउन सुरु गरिएको हो । २०१८ नोभेम्बरसम्म यहाँ ३० वटा घर निर्माण भइसकेका छन् । सबै घरहरू महिलाले मात्रै निर्माण गरेका हुन् । यो गाउँमा बस्ने केही महिला द्वन्द्व पीडित र एकल महिला पनि छन् । जिन्वार गाउँको मुख्य उद्देश्य महिलालाई शान्तिपूर्ण जीवनयापन गर्न सहज बनाउनु र स्वतन्त्रता प्रदान गर्नु हो ।

जिन्वार बस्तीमा हतियारयुक्त महिलाले सुरक्षा दिन्छन् । पुरुषहरूले बस्ती अवलोकन गर्न पाउँछन् तर त्यहाँ बस्न पाउँदैनन् । महिलाहरूले गाउँमा एउटा अस्पताल, सानो संग्राहलय, स्कुल र पसल पनि चलाएका छन् । गाउँमा सबैका लागि सामूहिक भान्सा छ ।

जिन्वार गाउँमा बस्दै आएकी अमिरा महाब्बत भन्छिन्, ‘मैले टेलिभिजनबाट यस गाउँको बारेमा थाहा पाएकी हुँ । महिलाहरूबाट यस्तो पनि सम्भव होला र जस्तो लाग्थ्यो, मैले आफैंलाई सोधेँ उनीहरू पुरुषविना कसरी यहाँ बस्न सके रु तर यहाँ बसेपछि महिलाहरू बच्चा हुर्काउन एक्लै सबल र सक्षम छन् भन्ने महसुस भयो ।’

यहाँ बस्ती निर्माण गर्ने महिलालाई क्रान्तिकारी भनेर चिनिन्छन् । समाजमा महिलाको सामूहिक भूमिका निर्माण गर्नु गाउँको लक्ष्य रहेको छ । जसले महिलाको स्वतन्त्रतालाई सिमित र नियन्त्रण गर्न चाहन्छ । उनीहरूका लागि यो बस्ती एक जवाफ बन्न सक्छ । महिलालाई सशक्त बनाउनु आत्मनिर्भर बनाउनु र उनीहरूमा चेतना फैलाउनु शैक्षिक संस्थाको उद्देश्य रहेको छ ।

धेरै वर्षअगाडि मध्यपूर्वमा भएको महिला क्रान्तिलाई उनीहरू आफ्नो प्रेरणा ठान्छन् । यो प्रक्रिया नियोलिथिक क्रान्तिमा पुगेर टुंगिएको थियो र पनि महिलाहरूले युफ्रेटिस, टाइग्रिस, हबूर र जाप नदीको किनारमा नैतिकता, प्रकृति, मानवता र तर्कसंगतको आधारमा अर्थपूर्ण जीवनको विकास गरेका थिए।

यो जिन्वार गाउँजस्तै केन्यामा पनि उमोजा उसो गाउँ छ । ९० को दशकमा बेलायती सेनाबाट केन्याका धेरै महिला बलात्कृत भएका थिए । १४ सयभन्दा बढी महिला सेनाबाट बलात्कृत भए । हिंसामा परेका महिलाहरुले रोग सार्न सक्ने भन्दै उनीहरूलाई घरबाट निकालियो र केन्याका धेरै महिला घरविहीन भए । धेरै महिला घरविहीन भएपछि रेबेका लोलोसोलीसहित १५ जना महिलाले यो गाउँको निर्माण गरेका थिए ।

उमोजामा सन् २०१५ सम्ममा बसोबास गर्ने महिलाको संख्या ४७ र बालबालिका २०० पुगेका थिए । यो गाउँमा पनि पुरुषहरू घुम्न जान पाउँछन् तर उनीहरूलाई यहाँ बस्न अनुमति छैन । उमोजा गाउँका महिलाहरू हस्तकला उद्योग चलाउँछन् । गाउँमा एउटा स्कुल, सांस्कृतिक केन्द्र, शिविर क्षेत्र रहेका छन् । यी गाउँमा सबै महिलाको बराबर हैसियत हुन्छ, तर गाउँलाई व्यवस्थित बनाउन उनीहरूले एक जना नेता छान्छन् । (एजेन्सीको सहयोगमा)

प्रकाशित मिति २४ माघ २०७६, शुक्रबार १७:०५