बालुवाटारमा एनआरएनलाई डुबाउने साहु यिनी हुन् !

माघ २५, काठमाडौं । सपिङ सेन्टरको नाम लिनेवित्तिकै भाटभटेनीको नाम आइहाल्छ । देशको सबैभन्दा धेरै चलेको र शाखा सञ्जालसमेत धेरै ठाउँमा पुगेको भाटभटेनीको नाम नसुन्ने नेपाली कमै होलान् । यही भाटभटेनीका साहु मीनहादुर गुरुङ यतिबेला बालुवाटार काण्डमा परेका छन् ।

३५ हजार रुपैयाँमा लगानी सुरु गरेको बताउने गुरुङसँग अहिले अर्बौको सम्पत्ति छ । भाटभटेनीकै मात्र १७ वटा आउटलेटहरु देशभर छन् । एक महिनाअघि उनले बाग्लुङमा पनि भाटभटेनी खोल्ने योजना रहेको बताएका थिए । व्यवसायमा ‘सफल’ बन्दै गएका मीनबहादुरलाई आर्थिक छलाङ मार्न ललिता निवासको जग्गा निकै फलदायी बन्यो ।

बालुवाटारको सयौं रोपनी सरकारी जमिन ब्यक्तिका नाममा गराउन आर्थिक लगानी गर्ने, योजना बनाउने र त्यसको लाभ लिनेमा मिनबहादुर नै पहिलो नम्बरमा रहेको अख्तियारले दायर गरेको अभियोग पत्रले पुष्टि गर्छ ।
आफूले कमाए, एनआरएनएलाई डुबाए
रोचक कुरा के छ भने बालुवाटारबाट धेरै सम्पत्ति मीनबहादुरले कमाए । तर, उनको पछि लागेर गुमाउने अरु छन् । मीनबहादुरकै कारण गैरआवासीय नेपाली संघ ९एनआरएनए० समेत फसेको छ ।

गैरआवासीय नेपाली संघ ९एनआरएन०लाई पनि बालुवाटारमा गुरुङले नै भित्र्याएका थिए । सो जग्गा विवादित नभई सरकारले पहिले जफत गरेर फिर्ता गरेको १४ रोपनीमध्येबाट रहेको बिश्वास दिलाएर अधिग्रहण गरिएको जग्गा किनाएका थिए ।

एनआरएनको भवन ०७१ फागुन १५ गते शिलान्यास गरिएको थियो । जबकि एनआरएनले ०७२ जेठ १४ गते मात्रै जग्गा किन्यो । एनआरएनले जग्गा किनेको रकमको चेक मिनबहादुर गुरूङ र उनकी पत्निलाई दिएको जग्गा खरिदका लागि गठित समितिले पत्ता लगाएको थियो ।

एनआरएनएले खरिद गरेको जग्गामा अहिले करोडौं खर्चिएर महल ठड्याइसकेको छ । गत कात्तिकमा अन्तर्राष्ट्रिय विश्व सम्मेलनको धेरै काम एनआरएनएले आफ्नै नयाँ भवनमा सञ्चालन गरेको थियो ।

अहिले भने उक्त भवन भाडामा लगाइएको छ । मुलुकको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंक नै अहिले त्यस विवादित जग्गामा बनेको भवनमा भाडा तिरेर बसिरहेको छ । अहिले अख्तियारले दायर गरेको मुद्दामा एनआरएनलाई पनि प्रतिवादी बनाएको छ ।

जग्गा जफत गर्नका लागि भन्दै एनआरएनलाई प्रतिवादी बनाइएको हो । ठूलो रकम तिरेर मालपोतमा गएर पास गरेर वैधानिक तरिकाले नै एनआरएनएले जग्गा किनेको हो । तर, मीनबहादुरकै कारण जग्गा र भवन निर्माणमा खर्चिएको करोडौं रकम एनआरएनएको डुब्दैछ ।

उसो त बालुवाटार जग्गा प्रकरणमा मात्रै होइन, भ्याट छलीमा समेत उनी मुछिएका छन् । मीनबहादुरले भ्याट छली गरेको सर्वोच्च अदालतले नै पुष्टि गरिसकेको छ । भाटभटेनीले मूल्य अभिवृद्धि कर छली र त्यसका आधारमा आयकरसमेत छली गरेको आधारमा ८० करोड रुपैयाँ राजस्व निर्धारण भएको थियो ।

भाटभटेनीले वस्तु आपूर्ति गर्नेहरुसँग खरिद गरेको नक्कली बिजक बनाएर आफ्नो खर्च बढाएको भन्दै अदालतले भाटभटेनीलाई दोषी ठहर गरिसकेको छ ।

प्रकाशित मिति २६ माघ २०७६, आईतवार ०३:५२