साजन परियार (फलेवास) । आधुनिकताको हावाले गाउँघरका परम्परागत सीप–व्यवसाय ओझलमा पर्दै जाँदा पर्वत फलेवास नगरपालिका–५ खानीगाउँका तीन जना कारीगर भने अझै आरन पेसामा अडिग रहँदै यसलाई जोगाइरहेका छन् । बाल्यबालमै सिकेको सीपलाई जीवनको आधार बनाएका उनीहरु संघर्ष र जिम्मेवारीबीच आफ्नो पहिचान जोगाइरहेका छन् ।
सानै उमेरदेखी आरन पेसामा हात हालेका सोही स्थानका ४१ बर्षिय राम वहादुर वि.क बीचमा भने यो पेसामा भविष्य नदेखेपछि विदेशिने निर्णय गर्नुभयो । रोजगारीको खोजीमा ७ बर्ष साउदी अरब र २ बर्ष दुवई बिताएपछि उहाँ पुन ः गाउँ फर्किनुभयो । विदेशमा बिताएको झण्डै एक दशकले आर्थिक रुपमा केही राहात दिए पनि मन भने आफ्नै माटो र बाउबाजेको पेसामै अडिएको उहाँकोे भनाई छ । ‘यो पेसा अति आवश्यक छ, गाउँघरमा आरन नहुने हो भने यहाँका नागरिक समस्यामा पर्छन,’ वि.कले भन्नुभयो, “पैसा धेरै नआए पनि बाउबाजेको पालादेखि गदै आएको काम छोड्न मनले मान्देन ।”
उहाँका अनुसार आरन पेसा केवल जीविकोपार्जनको माध्यम मात्र होइन, गाउँको दैनिक जीवनसँग जोडिएको अत्यावश्यक सेवा पनि हो । खेतीपातीका औजारदेखि घरायसी सामग्रीसम्म बनाउन आरन अपरिहार्य हुने उहाँको भनाई छ । तर, समयसँगै यस्तो सीप सिक्ने नयाँ पुस्ताको अभाव देखिँदै गएकोमा उनी चिन्तित छन् । वि.कले स्थानीय सरकारबाट अपेक्षित सहयोग नपाएको गुनासो गर्नुहुन्छ । ‘दुई बर्ष अघि नगरपालिकाबाट एउटा घन र रेती दिएको थियो, त्यसबाहेक अरु केही सहयोग पाएको छैन,’ उहाँले भन्नुभयो, “अहिलेसम्म पनि पुरानै सामानबाट औजार बनाउनु परेको छ ।”
वि.कले आरन पेसालाई आधुनिकीकरण गर्दै नयाँ पुस्तालाई आकर्षित गर्न सके गाउँमै रोजगारी सिर्जना हुने बताउँनुहुन्छ । तर, त्यसका लागि आवश्यक तालिम, प्रविधि र आर्थिक सहयोगको अभाव रहेको उहाँको भनाइ छ । परम्परागत सीपलाई निरन्तरता दिँदै जीवन गुजारिरहेका रामबहादुर जस्ता कारीगरहरू आज पनि गाउँको मेरुदण्ड बनेका छन् । तर, उहाँहरूको सीप र अनुभवलाई जोगाउन राज्यको ध्यान दिन सकेको छैन ।
राज्यको उपेक्षाका कारण आरन पेसा संकटमा पर्दै गएको भन्दै सोही गाउँका ५७ वर्षीय कुलबहादुर वि.कले चिन्ता व्यक्त गर्नुभएको छ । बजारमा नयाँ–नयाँ प्रविधि भित्रिँदै गए पनि आवश्यक औजार र प्रविधिको अभावमा परम्परागत आरन व्यवसायीहरूले प्रतिस्पर्धा गर्न नसक्दा पुख्र्यौली पेसा लोप हुने अवस्थामा पुगेको उहाँको भनाइ छ ।
करिब दुई दशकदेखि बाउबाजेको पेसा धान्दै आउनु भएका उहाँले यही कामबाट जीविकोपार्जन गर्दै आउनु भएको छ । कोदालो, बन्चरो, आँसी, बाउसो लगायतका कृषि औजार निर्माण तथा मर्मत गरेर न्यून आम्दानीमा गुजारा चलाउँदै आउनु भएको उहाँले बजार अभाव र उचित मूल्य नपाउँदा पेसा टिकाउन झन् कठिन भएको बताउँनुहुन्छ,“बजार अभाव छ, त्यसैले आरन व्यवसाय गाउँघरबाटै हराउँदै गएको छ,” उहाँले भन्नुभयो, “काम राम्रो लागेर टाढाटाढाबाट पनि मानिसहरू आउने गर्छन्, तर मेहनतअनुसारको मूल्य पाइँदैन ।”
उहाँका अनुसार पछिल्लो समय परम्परागत घरेलु हस्तकलाका सामग्रीको प्रयोग घट्दै जानु र राज्यबाट आवश्यक सहयोग नपाइनुले यो पेसा थप संकटमा परेको छ । आरन व्यवसायलाई आधुनिक ढंगले व्यावसायिक रूपमा विकास गर्न सके स्थानीय स्रोतसाधनको उपयोग गर्दै गाउँमै रोजगारी सिर्जना गर्न सकिने उहाँको भनाई छ । तर, युवापुस्ताको यसतर्फ आकर्षण नहुनु अर्को चुनौती बनेको छ ।
“अहिलेका युवामा यो पेसा प्रति चासो छैन,” उहाँले भन्नुभयोे, “मैले सानैदेखि बाउबाजेले गरेको देखेर सिकेको हुँ, तर अहिलेका पुस्ताले सिक्न चाहँदैनन् । सिकेको सीप कहिल्यै खेर जाँदैन, यसबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ ।”
पहिले गाउँघरमा आरन व्यवसाय गर्नेको संख्या उल्लेख्य भए पनि अहिले घट्दै गएको छ । कोइला र दाउरा अभाव हुँदै जाँदा उत्पादन प्रक्रिया पनि प्रभावित बनेको उहाँहरूको भनाइ छ । स्थानीय सरकारले आवश्यक सहयोग र संरक्षणमा ध्यान नदिँदा परम्परागत सीपमा आधारित यो पेसा विस्तारै इतिहास बन्दै जाने चिन्ता कारीगरहरूले व्यक्त गरेका छन् ।
अर्का आरन व्यवसायी अमृत सुनारले आवश्यक प्रविधि र आधुनिक औजार उपलब्ध हुने हो भने यस पेसाबाट राम्रो आम्दानी गर्न सकिने बताउँनु हुन्छ । तर, स्थानीय सरकारले पुख्र्यौली पेसाप्रति स्पष्ट नीति र राहत कार्यक्रममा ध्यान नदिएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।
उहाँका अनुसार पहुँच भएका व्यक्तिहरूले नगरपालिकाबाट विभिन्न सुविधा लिँदा वास्तविक किसान तथा परम्परागत पेसामा निर्भर व्यक्तिहरू भने वञ्चित हुँदै आएका छन् । “पहुँच हुनेहरूले अनेकौँ फाइदा लिन्छन्, तर वास्तविक रूपमा काम गर्नेले पाउँदैनन्,” सुनारले गुनासो गर्नुभयो ।
आरन पेसालाई व्यवस्थित गर्दै बजारअनुसारका आधुनिक औजार, सामग्री र मेसिनको प्रयोग गर्न सके गाउँमै रोजगारी सिर्जना गर्न सकिने उहाँको भनाइ छ । यसतर्फ राज्यले ध्यान दिए परम्परागत सीपको संरक्षणसँगै स्थानीय स्तरमै आयआर्जनको दिगो आधार बन्न सक्ने उहाँले उल्लेख गर्नुभयो ।
प्रकाशित मिति ३० चैत्र २०८२, सोमबार ०२:१९


