फलेवास संवाददाता (पर्वत) । प्रतिनिधि सभा सदस्य सागर भुसालले जिल्लास्थित सरकारी कार्यालयहरूलाई सेवा प्रवाह सुधार गर्न, विकास निर्माणका कामलाई तीव्रता दिन र शान्ति सुरक्षा सुदृढ बनाउन निर्देशन दिनुभएको छ । प्रमुख जिल्ला अधिकारीको समन्वयमा आयोजित जिल्लास्तरीय बैठकमा कार्यालय प्रमुखहरूको विस्तृत ब्रिफिङ सुनेपछि उहाँले जनतामुखी सेवा सुनिश्चित गर्न सम्बन्धित सबै निकायलाई सक्रिय बन्न आग्रह गर्नुभएको हो ।
बैठकमा सुरक्षा निकायका प्रमुख, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा जिल्लाका सातवटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको सहभागिता रहेको थियो । सहभागीहरूले आफ्नो कार्यक्षेत्रमा भइरहेको सेवा प्रवाह, विकास निर्माणको अवस्था, देखिएका समस्या र चुनौतीबारे जानकारी गराएका थिए । छलफलका क्रममा नागरिकले भोगिरहेका दैनिक समस्या, सेवा प्रवाहमा देखिएको ढिलासुस्ती, विकास निर्माणमा रहेका अवरोध तथा शान्ति सुरक्षासम्बन्धी विषयमा गम्भीर समीक्षा गरिएको थियो । कार्यालय प्रमुखहरूले सेवा सुधारका लागि भइरहेका प्रयासबारे जानकारी गराउँदै आवश्यक स्रोत, समन्वय र व्यवस्थापनका चुनौतीहरू पनि औँल्याएका थिए ।
कार्यक्रममा बोल्दै सांसद भुसालले “भोलि आउनुस” भन्ने प्रवृत्ति तत्काल अन्त्य गर्न निर्देशन दिनुभयो । जनतालाई अनावश्यक दुःख दिने ढिलाइ, झन्झट र बेवास्ता सह्य नहुने स्पष्ट पार्दै उहाँले सरकारी कार्यालयहरू जनताको सेवा गर्ने थलो भएको स्मरण गराउनुभयो । सेवा प्रवाहलाई सरल, छिटो र प्रभावकारी बनाउन हरेक कर्मचारी जिम्मेवार बन्नुपर्ने उहाँको भनाइ थियो । उहाँले विकास निर्माणका कामहरू ढिलाइ नगरी अघि बढाउन, विशेष गरी खानेपानी, सडक र स्वास्थ्यजस्ता आधारभूत सेवामा देखिएका समस्या तत्काल समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । विकासका योजनाहरू कार्यान्वयनमा ढिलासुस्ती हुनु नहुने उल्लेख गर्दै उहाँले समयमै काम सम्पन्न गर्न निगरानी र उत्तरदायित्व बढाउनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै, जिल्लाको शान्ति सुरक्षा अवस्था थप मजबुत बनाउन सुरक्षा निकायबीच प्रभावकारी समन्वय, सूचना आदानप्रदान र सक्रियता बढाउन पनि उहाँले निर्देशन दिनुभयो । नागरिकलाई सुरक्षित वातावरण दिनु राज्यको प्राथमिक दायित्व भएको उल्लेख गर्दै कुनै पनि प्रकारको असुरक्षा सह्य नहुने उहाँले स्पष्ट पार्नुभयो । सांसद भुसालले जनताका गुनासा र अपेक्षालाई राज्यका निकायसम्म पु¥याउनु आफ्नो जिम्मेवारी भएको बताउँदै जनतामुखी प्रशासन निर्माणमा सबै पक्ष प्रतिबद्ध हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । सरकारी संयन्त्रलाई जनताको दुःख कम गर्ने माध्यमका रूपमा स्थापित गर्नुपर्ने उहाँको जोड थियो ।
बैठकबाट सेवा प्रवाहलाई अझ चुस्त, पारदर्शी र उत्तरदायी बनाउने, विकास निर्माणलाई प्राथमिकताका साथ अघि बढाउने तथा सुशासन कायम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । यसैबीच, केही कार्यकर्ताले सरकारी कार्यालयहरूमा अनावश्यक दबाब र अव्यवस्था सिर्जना गर्न खोजेको सूचना आएको उल्लेख गर्दै सांसद भुसालले त्यस्ता गतिविधि रोक्न कडाइका साथ प्रस्तुत हुने चेतावनी दिनुभयो ।
प्रकाशित मिति १० बैशाख २०८३, बिहीबार ००:४२


