पर्वत कांग्रेसको ‘एक महिने जरा अभियान’ सुरु

गण्डकी संचार (पर्वत) । नेपाली काँग्रेसले संगठनलाई सुदृढ, सशक्त र प्रभावकारी बनाउने उद्देश्यसहित सुरु गरेको एक महिने ‘जरा अभियान’ पर्वतमा आजबाट औपचारिक रुपमा शुरु भएको छ । अभियान अन्तर्गत जिल्लाका सातै पालिका र वडा तहसम्म पुग्ने गरी कार्यक्रम सञ्चालन गरिने जनाएको छ ।

नेपाली काँग्रेस पर्वतका सचिव गुप्तनिधि शर्माका अनुसार अभियानको पहिलो चरणमा पालिका स्तरमा एक दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । २०८३ वैशाख २१ गते बसेको जिल्ला पदाधिकारी र गण्डकी प्रदेशका केन्द्रीय प्रतिनिधिहरूको संयुक्त बैठकले अभियानलाई प्रभावकारी बनाउन यस्तो कार्यक्रम तय गरेको हो ।

कार्यक्रम तालिका अनुसार वैशाख २२ गते फलेवास नगरपालिका, २३ गते पैयूँ गाउँपालिका, २४ गते कुश्मा नगरपालिका, २६ गते जलजला गाउँपालिका, २७ गते विहादी गाउँपालिका र २८ गते महाशिला गाउँपालिकामा अभिमुखीकरण तालिम सञ्चालन गरिनेछ भने मोदी गाउँपालिकाको मिति भने तय हुन बाँकी रहेको छ ।

अभियान आगामी जेठ २१ गतेसम्म सञ्चालन हुनेछ । यस अवधिमा क्रियाशील सदस्यता अद्यावधिक गर्ने, पार्टीका सांगठनिक गतिविधिको समीक्षा गर्ने, जनतासँग तथा युवासँग अन्तरक्रिया गर्ने र निर्वाचनको समीक्षात्मक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ ।

अभियानका लागि केन्द्रीय कार्यसमितिले केन्द्रीय सदस्य जगदीशचन्द्र उपाध्यायलाई केन्द्रीय प्रतिनिधिका रूपमा खटाएको छ भने प्रदेश समितिबाट सिता काफ्ले लामिछाने, जीतबहादुर नेपाली लगायतलाई जिम्मेवारी दिइएको छ ।

नेपाली काँग्रेस पर्वतका सभापति युवराज जोशीले ‘जरा अभियान’ ले पार्टी संगठनलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले कार्यकर्तालाई तल्लो तहसम्म सक्रिय बनाउँदै जनताको समस्या, भावना र सुझावलाई प्रत्यक्ष रूपमा सुन्ने अवसरका रूपमा अभियानलाई लिनुपर्ने बताउनुभयो ।

सभापति जोशीले “क्रियाशील सदस्यता खारेज होइन, अद्यावधिक गर्ने प्रक्रिया हो” भन्ने स्पष्ट पार्दै सम्पूर्ण क्रियाशील सदस्यहरूलाई आफ्नो सदस्यता अद्यावधिक गर्न र कांग्रेसप्रति आस्था राख्ने शुभेच्छुकहरूलाई क्रियाशील सदस्यता लिन हार्दिक अनुरोध गर्नुभएको छ । उहाँले पार्टीभित्रको एकता, अनुशासन र सक्रियतामार्फत काँग्रेसलाई अझ प्रभावकारी बनाउने लक्ष्य रहेको उल्लेख गर्दै अभियान सफल बनाउन सबै नेता तथा कार्यकर्तालाई एकजुट भएर लाग्न आग्रह गर्नुभयो ।

प्रकाशित मिति २२ बैशाख २०८३, मंगलवार ००:२०