पर्वतमा झिलिङ्गालाई आकर्षक बनाउन अत्याधिक अखाद्य रङको प्रयोग

गण्डकी संचार (पर्वत) । तिहारमा लोकप्रिय मानिने झिलिङ्गालाई आकर्षक देखाउने नाममा पर्वतमा अखाद्य रासायनिक रङको अत्यधिक प्रयोग हुने गरेको पाइएको छ । बजारमा बिक्रीका लागि राखिएका झिलिङ्गा तथा अन्य मिठाईजन्य खाद्यवस्तुमा उपभोक्ताको आकर्षण बढाउन स्वास्थ्यका लागि हानिकारक हुन सक्ने रङ मिसाउने गरिएको अनुगमनका क्रममा भेटिएको हो ।

एकीकृत सेवा कार्यालय पर्वतले सदरमुकाम कुश्मा बजारमा सञ्चालन गरेको बजार अनुगमनका क्रममा झिलिङ्गा उत्पादन गर्ने उद्योग तथा बिक्री गर्ने पसलमा रङको अत्यधिक प्रयोग भएको पाइएको जनाएको छ । झिलिङ्गालाई आकर्षक र चम्किलो देखाउन विभिन्न रासायनिक रङ प्रयोग गर्ने गरिएको कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख जीवन पौडेलका अनुसार झिलिङ्गा मात्र नभई तेलजन्य खाद्यवस्तुमा समेत आवश्यकताभन्दा बढी रङ मिसाउने गरेको पाइएको छ । दर्जनभन्दा बढी उद्योग तथा पसलमा गरिएको अनुगमनका क्रममा म्याद गुज्रिएका करिब दुई हजार रुपियाँ बराबरका खाद्य सामग्री जफत गरी नष्ट गरिएको पौडेलले बताउनुभयो । पहिलो चरणमा व्यवसायीलाई अखाद्य रङ प्रयोग नगर्न र खाद्यवस्तुको गुणस्तरमा ध्यान दिन सुझाव दिइएको उहाँको भनाइ छ ।

‘हामीले नियमित रूपमा मासिक बजार अनुगमन गर्दै आएका छौँ । पहिलो चरणमा व्यवसायीलाई सुधार गर्न सुझाव दिएका छौँ । तत्काल कारबाहीभन्दा पनि सचेत गराउने काम गरेका छौँ,’ उहाँले भन्नुभयो ।

तिहारमा झिलिङ्गा, मिठाईलगायतका खाद्यवस्तुको खपत बढ्ने भएकाले यस्ता सामग्री खरिद गर्दा उपभोक्ता स्वयं पनि सचेत हुनुपर्ने देखिएको छ । विशेषगरी आकर्षक रङमा सजाइएका खाद्यवस्तु सुरक्षित नै हुन्छन् भन्ने ग्यारेन्टी नहुने भएकाले उत्पादन मिति, उपभोग्य मिति, लेबल र गुणस्तरमा ध्यान दिनुपर्ने उपभोक्ता अधिकारकर्मीहरूको सुझाव छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य नियमावली, २०२७ अनुसार अनुमति प्राप्त खाद्य रङलाई तोकिएको खाद्यवस्तुमा निर्धारित मात्राभित्र मात्र प्रयोग गर्न सकिने व्यवस्था गरेको छ । प्रतिबन्धित रङ वा मापदण्डविपरीत रङ प्रयोग गरी खाद्यवस्तु उत्पादन तथा बिक्री वितरण गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही हुन सक्छ ।

प्रकाशित मिति २१ कार्तिक २०८३, शुक्रबार १४:१८