बैशाख १९, पर्वत । विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई मध्येनजर गदै अन्तराष्ट्रिय पर्वत समाजले आकस्मिक राहत कोष स्थापना गरेको छ । प्रवासमा रहेका पर्वतेलीहरुको साझा संस्था अन्तराष्ट्रिय पर्वत समाजले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण समस्यामा परेका पर्वतेली नागरिक सँगै भवितव्य पर्वत जिल्लाको सहयोगार्थ राहात कोष स्थापना गरेका हुन् । कोषमा हालसम्म साढे १२ लाख रुपैयाँ संकलन भएको छ । अन्तराष्ट्रिय पर्वत समाजका प्रमुख संरक्षक हितकाजी गुरुङले कोरोना भाइरसवाट समस्यामा परेका प्रवासी पर्वतेली सँगै भवितव्य पर्वत जिल्लामा उत्पन्न स्वास्थ्य परिस्थितीलाई सहयोग गर्ने उद्धेश्यले कोष खडा गरिएको बताउनु भयो । संकलन भएको रकम कार्यविधि अनुसार खर्च गरिने उहाँको भनाई छ ।
‘कोषवाट कोरोना भाइरसका कारण अप्ठ्यारो स्थितीमा रहेका पर्वतेली नागरिकलाई सहयोग गर्दछौँ । यसको अलवा जिल्लामा कोरोना भाइरसको संकट समाधान गर्ने र समस्यामा परेका नागरिकाको सहयोगार्थ कोषको रकम खर्च गछौँ,’–गुरुङले भन्नुभयो । ‘विपतको बेला हामी सवै एकजुट हुनुपर्छ । एक पर्वतेले अर्को पर्वतेलाई साथ दिदै अगाडि बढ्नु पर्दछ । कोरोनाले फेरी पनि हामी पर्वतेलीलाई एकजुट बनाएको छ । संकटको बेला आफै अप्ठ्यारोमा परेको अवस्थामा प्रवासमा रहेका पर्वतेलीहरुले मन फुकाएर कोषमा रकम जम्मा गर्नुभएको छ ।’,
साथै उहाँले अन्तराष्ट्रिय पर्वत समाजका संरक्षकहरु, सल्लाहकार, समितिका पदाधिकारी, सदस्य, अन्तराष्ट्रिय पर्वत समाज अन्तर्गत विभिन्न देशमा रहेका पर्वत समाज, त्यसका पदाधिकारी लगायत सम्पूर्ण पर्वतेली दाजुभाई तथा दिदीबहिनीहरूलाई स्वैच्छिक रुपमा सहयोग गरि अभियानमा जोडिन आग्रह गर्नुभयो ।
अन्तराष्ट्रिय पर्वत समाजमा विश्वका विभिन्न देशमा बैदेशिक रोजगारीमा पुगेका पर्वतेली नागरिकहरु आवद्ध छन् । अन्तराष्ट्रिय पर्वत समाजले कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रण र रोकथाममा खटिएका स्वास्थ्यकर्मीलाई मध्येनजर सोही कोषवाट पर्वत जिल्ला अस्पताललाई ३२ थान पिपिई सामग्री सहयोग गरेको हो । समाजले उच्च स्तरको १२ थान र मध्यम खालको २० थान गरि ३२ थान पिपिई सहयोग गरेको हो । संस्थाले एक लाख पचास हजार बराबरको स्वास्थ्य सामग्री दिने निर्णय अनुसार उक्त स्वास्थ्य सामग्री सहयोग गरेको जनाएको छ ।


