पर्वत । पर्वत वेलफेयर सोसाइटी यूकेले दुर्लुङको पहिरोमा परी ज्यान गुमाएका मृतकका परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ । पर्वतमा जन्मिएर रोजगारीको शिलशिला यूकेमा रहेका पर्वतेलीहरुको साझा संस्था पर्वत वेलफेयर सोसाइटी यूकेले मृतकको परिवारको सहयोगर्थ आर्थिक संकलन अभियान शुरु गरेको छ । कुश्मा नगरपालिका वडा नं ३ दुर्लुङ ढकालबारीमा जेठको अन्तिम दिन अबिरल बर्षासँगै गएको पहिरोमा ९ जनाको मृत्यु भएको थियो ।
संस्थाले घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गदै परिवारजनमा समवेदना प्रकट गर्नुका साथै दुखको बेला सक्दो सहयोग गर्नु पर्छ भन्ने मान्यताका साथ आर्थिक सहयोग संकलन अभियान अगाडि बढाएको अध्यक्ष नेत्र आलेले जानकारी दिनुभयो । ‘हाम्रो प्यारो जन्मस्थल पर्वतमा पहिरोमा परी नौ जनाको मृत्यु भएको खवरले हामी अत्यन्तै दुखी र मर्माहत भएका छौँ । यस दुखद घटनामा पर्वतेली भएको नाताले मृतकको परिवारलाई राहात स्वरुप केही सहयोग गर्नुपर्छ भन्ने मान्यताले आर्थिक सहयोग संकलन अभियान थालेका हौँ,’–अध्यक्ष आलेले भन्नुभयो । सहयोग संकलन अभियानलाई सफल बनाउन अध्यक्ष आले सहित संस्थाका प्रमुख संरक्षक हितकाजी गुरुङ, बरिष्ठ उपाध्याक्ष बिनोद पुरी र महासचिव भरत पौड्याल र कोषाध्याक्ष सुजन पौडेल लगायत संस्थाका पदाधिकारी सक्रिय रुपमा लागि पर्नुभएको छ ।
संस्थाका बरिष्ठ उपाध्याक्ष बिनोद पुरीका अनुसार संस्थाले शुरुवात गरेको सहयोग संकलन अभियान कार्य तिव्र भइरहेको छ । ‘कोरोना भाइरसले विश्व आतंक मच्चाएको अवस्थामा वर्तमान परिस्थितीलाई मध्येनजर गदै हामीले सहयोग संकलन अभियान शुरु गरेको हौँ,’–पुरीले भन्नुभयो । ‘हामीले थालेको अभियानमा सहयोग व्यक्तिको स्वेच्छा अनुसार हुनेछ । यस अभियानमा कसैलाई अनिवार्यता छैन । मानवीय कार्यको लागि स्वेच्छाले सहयोग गर्नुहुने महानुभावहरुले रकम खातामा जम्मा गरिदिन सक्नुहुनेछ ।’
आर्थिक संकलन अभियानवाट यति नै रकम उठाउने भनी लक्ष्य नराखिएको भएपनि धेरैभन्दा धेरै रकम जम्मा हुने संस्थाले जनाएको छ । ‘वर्तमान परिस्थिति पक्कै पनि गार्हो छ तर “एक थुकी सुकी सय थुकी नदी’’ भने जस्तै तपाईहरुको स्वेच्छा अनुरुपको सहयोगले पक्कै पनि पर्र्वत वेलफेयर सोसाइटी युकेको सहयोग अपिलका लागि केहि हदसम्म मद्दत हुनेछ,’संस्थाले भनेको छ ।
प्रकाशित मिति ४ असार २०७७, बिहीबार १७:२८


