पहिरो पीडितलाई पर्वत समाज बेल्जियमको सहयोग

असोज २६, पर्वत । पर्वत जिल्लामा जन्मिएर विभिन्न पेशा, व्यवसाय र रोजगारीको शिलशिलामा बेल्जियम पुगेका पर्वतेलीहरुको साझा संस्था पर्वत समाज बेल्जियमले फलेवास नगरपालिका–४ मुडिकुवाका बाढि पीडित परिवारलाई आर्थिक सहयोग गरेको छ । बाढि पहिरोका कारण घरबार बिहीन भएका र परिवारको सदस्य गुमाएका नविन विकको परिवारलाई समाजले २० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको हो । राहात स्वरुप पठाएको रकम पत्रकार साजन परियारले पीडितको घरमै पुगेर हस्तान्तरण गर्नुभएको थियो ।

भदौ २८ गते ठाडोखोलामा आएको बाढि बस्तीमा पस्दा नविन विककी ३ वर्षिय छोरी निकिताको मृत्यु भएको थियो भने नविन सहित उहाँकी श्रीमती समेत घाईते हुनुभएको थियो । गोठमा पालेका दुईवटा भैसी र एउटा गोरु समेत मरेको थियो । विकको घर बस्नै नमिल्ने गरि क्षतीग्रस्त भएको छ ।
क्षतिको खवर विभिन्न संचार माध्यम मार्फत थाहा पाए लगत्तै दुःख व्यक्त गरेको समाजले विक परिवारलाई सान्त्वना प्रदान गर्ने उद्देश्यले २० हजार रुपैयाँ सहयोग गरेको पर्वत समाज बेल्जियमका अध्यक्ष भिम जोशी ‘रोशन’ ले जानकारी दिनुभयो ।

अध्यक्ष जोशीले पर्वत समाज बेल्जियमले जिल्लामा आउने भैपरिे समस्यालाई मध्येनजर गदै विपद राहात कोष स्थापना गरेको र सोही कोष मार्फत नविनको परिवारलाई सहयोग गरेको बताउनु भयो । उहाँले पर्वत समाज बेल्जियम बिशुद्ध सामजिक संस्था भएको बताउँदै यस संस्थाले जिल्लामा थुप्रै सामजिक एवम् रचनात्मक कार्य गदै आएको दावी गर्नुभयो ।

प्रकाशित मिति २६ आश्विन २०७७, सोमबार १६:४९