गण्डकी संचार (पर्वत) । कुश्मा नगरपालिकाभित्र सञ्चालनमा रहेका संस्थागत विद्यालयहरूले मासिक शुल्कमा १० प्रतिशत वृद्धि गरेका छन् । नगरपालिकाको शिक्षा शाखाले गरेको निर्णयका आधारमा विद्यालयहरूले साउन महिनादेखि लागू हुने गरी शुल्क बढाएको पत्र अभिभावकलाई पठाएका छन् ।
विद्यालयहरूले जारी गरेको सूचनामा साउन २१ गते बसेको नगर शिक्षा शाखाको बैठकको निर्णयअनुसार मासिक शुल्कमा १० प्रतिशत वृद्धि गरिएको उल्लेख छ ्। बढेको शुल्क साउन १ गतेदेखि नै लागू हुने जनाइएको छ । साथै मासिक शुल्क प्रत्येक महिनाको ३० गतेभित्र बुझाउन अभिभावकलाई अनुरोध गरिएको छ ।
शुल्क वृद्धिसँगै अभिभावकमा असन्तुष्टि देखिएको छ । शैक्षिक सत्र सुरु भइसकेपछि शुल्क बढाउने निर्णय गरिएको भन्दै केही अभिभावकले निर्णय प्रक्रियामाथि प्रश्न उठाएका छन् । ‘शुल्क बढाउनुपरे कारण र आधार स्पष्ट रूपमा सार्वजनिक हुनुपथ्र्यो,’ एक अभिभावकले नाम उल्लेख नगर्ने शर्तमा भने, “बीच सत्रमा गरिएको यस्तो निर्णयले परिवारको आर्थिक योजना नै प्रभावित बनाउँछ ।”
नगरशिक्षा शाखा प्रमुख बिष्णुप्रसाद तिवारीले आर्थिक बर्षको साउनमा सबैको कर्मचारीहरुको तलबभत्ता बढ्ने भएकाले विद्यार्थीहरुको शुल्कमा पनि बृद्दि गरिएको बताउनु भयो । उहाँले निजी विद्यालयले २० प्रतिशतसम्म शुल्क बढाउनुपर्ने माग गरेका थिए । मैले अर्को बर्ष बढाउँला भनेर यो बर्ष १० प्रतिशतमा झारेको बताए । संस्थागत विद्यालयको ४\५ बर्ष भयो मासिक शुल्क नबढेको, त्यसैले यो बर्ष बढाएको बताए ।
उनका अनुसार शुल्क समायोजनको निर्णय नगर शिक्षा शाखा, प्याब्सनका पदाधिकारी र नगर प्रमुखको रोहवरमा गरिएको हो । तर अभिभावक वा उपभोक्ता पक्षसँग पर्याप्त छलफल नभएको भन्दै केही सरोकारवालाले प्रश्न उठाएका छन् ।
विद्यालय सञ्चालकहरू भने शिक्षक–कर्मचारीको पारिश्रमिक, शैक्षिक सामग्री, प्रशासनिक तथा सञ्चालन खर्च बढेकाले शुल्क समायोजन अपरिहार्य बनेको बताउँछन् । उनीहरूका अनुसार हालको आर्थिक अवस्थाले पुरानो शुल्कदरमा विद्यालय सञ्चालन गर्न कठिन हुँदै गएको छ।
कुश्मा नगरपालिकाभित्र हाल १३ वटा संस्थागत विद्यालय सञ्चालनमा छन् । शुल्क वृद्धिको निर्णयसँगै अभिभावकमाथि थप आर्थिक भार पर्ने भएकाले यसको औचित्य र निर्णय प्रक्रियाबारे बहस सुरु भएको छ ।


