गण्डकी संचार (पर्वत) । खेतभरि धान पहेँलपुर छ । मौसममा सुधार आएका कारण धान काटेर भित्राउने तयारीमा किसान छन् । तर, धान थन्काउने बेला नजिकिँदै गर्दा खेताला नपाउने समस्याले किसानलाई चिन्तित बनाएको छ । गाउँमा कामदार खोज्दै तीनवटा गाउँ चहार्दा समेत खेताला नभेटिएको जलजला गाउँपालिका–८ नाग्लीवाङका किसान हरेमबहादुर खत्रीको गुनासो छ । ‘धान पाकेर खेत पहेँलपुर भएको छ । कामदार पाए थन्क्याउने तयारी थियो । तर, तीनवटा गाउँ घुम्दा पनि खेताला भेटिएनन्,’ खत्रीले आफ्नो समस्या सुनाउँदै भन्नुभयो ।
धान पाकेपछि समयमै काटेर भित्राउनुपर्ने बाध्यता छ । तर, गाउँमा कृषि श्रमिकको अभाव बढ्दै जाँदा किसानलाई अन्न भित्राउनै मुस्किल हुन थालेको छ । समयमा धान काट्न नपाए वर्षा, हावाहुरी र अन्य प्रतिकूल मौसमका कारण उत्पादनमा क्षति पुग्ने चिन्ताले किसानलाई थप पिरोल्न थालेको छ । फलेवास नगरपालिका–२ थापाठानाका बाबुराम सुवेदीका अनुसार गाउँमा खेतालाको अभावसँगै ज्यालादरसमेत बढेको छ । ‘ज्याला बढे पनि कामदार पाइँदैनन् । युवा विदेश पलायन हुँदा खेती लगाउन र बाली भित्राउन समस्या भएको छ । यही अवस्था रहे केही वर्षमै खेतीयोग्य जमिन बाँझो रहने चिन्ता छ,’ उहाँले भन्नुभयो ।’
विहादी गाउँपालिका–३ रानीपानीका हरि न्यौपानेले कृषि क्षेत्रमा आधुनिकीकरणको चर्चा भइरहे पनि गाउँमा अझै पर्याप्त कृषि प्रविधि भित्रिन नसकेको बताउनुभयो । उहाँका अनुसार प्रविधिको अभावसँगै कृषि कार्यका लागि आवश्यक जनशक्ति पाउनसमेत मुस्किल हुँदै गएको छ । अन्य पूर्वाधार र सुविधाका हिसाबले गाउँहरू क्रमशः सुगम बन्दै गए पनि खेतीपाती गर्ने कामदारको अभाव भने दिनप्रतिदिन बढ्दै गएको उहाँको भनाइ छ । कृषि क्षेत्रमा प्रविधिको प्रयोग विस्तार हुन नसक्दा किसान अझै पनि श्रमिकमै निर्भर रहनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।
गाउँमा युवा जनशक्तिको पलायन हुनु, खेतीप्रति घट्दो आकर्षण, अर्मल–पर्मल प्रथा हराउनु कामदार अभाव हुनुका प्रमुख कारणहरु हुन् । किसानहरूका अनुसार गाउँमा अझै पनि धान काट्ने मेसिन, थ्रेसरलगायतका आधुनिक कृषि उपकरण पर्याप्त मात्रामा उपलब्ध छैनन् । कतिपय ठाउँमा मेसिन भए पनि भौगोलिक बनावट, भिरालो जमिन र साना–साना गराका कारण प्रयोग गर्न कठिनाइ हुने गरेको छ । कृषि क्षेत्रमा आधुनिकीकरणको चर्चा भइरहे पनि आवश्यक प्रविधि र उपकरणको पहुँच नहुँदा किसानहरू अझै परम्परागत श्रम र खेतालाकै भर पर्नुपर्ने बाध्यतामा रहेको उहाँहरुको भनाइ छ ।
फलेवास नगरपालिकाका कृषि शाखा प्रमुख केदार सापकोटाले श्रमिक अभाव न्यूनीकरण र कृषि उत्पादन लागत घटाउन ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गर्दै आएको बताउनुभयो । खाद्य सुरक्षाका लागि कृषि यान्त्रिकीकरण कार्यक्रमअन्तर्गत गण्डकी प्रदेश सरकारबाट ४० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । उहाँले भन्नुभयो, “कृषि यान्त्रिकीकरणमार्फत कम लागतमा छोटो समयमा धेरै काम गर्न सकिन्छ । त्यसैले मकै गोड्ने मेसिन, मेटिलरलगायत किसानको आवश्यकता अनुसारका कृषि औजार वितरण गर्दै आएका छौँ ।” पर्वतका अन्य स्थानीय तहले पनि किसानको समस्या र कृषि क्षेत्रमा बढ्दो श्रमिक अभावलाई मध्यनजर गर्दै विभिन्न कृषि औजार तथा यान्त्रिक उपकरण वितरण गर्दै आएका छन् ।
पर्वत जिल्लामा फलेवास, जलजला, पैयुँ र कुश्मा नगरपालिका धान उत्पादनका प्रमुख क्षेत्र मानिन्छन् । यसैगरी मोदी, महाशिला र बिहादी गाउँपालिकाका विभिन्न वडामा पनि धान खेती हुँदै आएको छ ।
कृषि ज्ञान केन्द्र पर्वतका अनुसार चालु आर्थिक वर्ष २०८३\८४ मा जिल्लामा धान उत्पादन घट्ने अनुमान गरिएको छ । पहिरो, असिना पानी तथा विभिन्न रोगकिराको प्रकोपका कारण धान खेती प्रभावित हुँदा उत्पादनमा कमी आउने देखिएको हो । गत आर्थिक वर्ष पर्वतमा ७ हजार २ सय ८२ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा करिब २४ हजार ९ सय ५० मेट्रिक टन उत्पादन भएको थियो । चालु आर्थिक वर्षमा भने धान खेतीको क्षेत्रफल घटेर ७ हजार १ सय ६० हेक्टरमा सीमित भएको कृषि ज्ञान केन्द्र पर्वतका कृषि अर्थविज्ञ प्रकाश चौधरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लामा पछिल्ला वर्षहरूमा धान उत्पादन घट्दै गएको छ । उत्पादन वृद्धि गर्ने उद्देश्यले केन्द्रले किसानलाई उन्नत जातको बीउ, कृषि मेसिनरी तथा औजारलगायत सामग्री वितरण गर्दै आएको छ । तर, प्राकृतिक विपद् र रोगकिराको प्रकोपका कारण उत्पादनमा अपेक्षित वृद्धि हुन नसकेको उहाँले बताउनु भयो ।
तस्वीर सौजन्य इन्द्रप्रसाद शर्मा
प्रकाशित मिति २४ कार्तिक २०८३, सोमबार ००:५०


