गण्डकी संचार (पर्वत) । उन्नत जातका गाईभैँसीको व्यावसायिक पालन बढ्दै जाँदा लोप हुने अवस्थामा पुगेका रैथाने जातका गाईको संरक्षणमा पर्वतका दुई स्थानीय तहले चासो देखाएका छन् । जिल्लाका सात स्थानीय तहमध्ये बिहादी र जलजला गाउँपालिकाले स्थानीय जातका गाईको संरक्षणका लागि कार्यक्रम सञ्चालन गर्दै आएका हुन् ।
बिहादी गाउँपालिकाले स्थानीय काठे गाईको संरक्षणका लागि नीतिगत रूपमै प्रोत्साहनको कार्यक्रम अघि बढाएको छ । गाउँपालिकाले स्थानीय जातका गाईको संख्या घट्न नदिन गाईपालक किसानलाई सुत्केरी स्याहार भत्तास्वरूप प्रतिगाई दुई हजार पाँच सय रुपैयाँ उपलब्ध गराउँदै आएको छ । गाउँपालिकाको पशु विकास शाखा प्रमुख निरज पासवानका अनुसार बिहादीका छवटै वडामा करिब ६० वटा स्थानीय काठे गाई रहेका छन् । गाई संरक्षणका लागि गाउँपालिकाले हरेक वर्ष एक लाख २५ हजार रुपैयाँ बजेट विनियोजन गर्दै आएको छ ।
गाउँपालिका अध्यक्ष परविन गुरुङले स्थानीय जातका गाईको संरक्षणसँगै किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले सुत्केरी भत्ता कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँका अनुसार स्थानीय जातका गाईको संख्या घट्दै गएकाले किसानलाई आर्थिक प्रोत्साहन दिएर स्थानीय जातकै गाई पाल्ने वातावरण बनाउने गाउँपालिकाको लक्ष्य रहेको छ ।
यस्तै, जलजला गाउँपालिकाले पनि स्थानीय वैदिक जातका गाईको संरक्षण र प्रवद्र्धनलाई प्राथमिकता दिएको छ । गाउँपालिकाको वडा नं. ७ धाइरिङस्थित मिलनचोकमा रैथाने गाईको संरक्षण र प्रचारप्रसार गर्ने उद्देश्यले नेपालकै पहिलो गौमहोत्सवका रूपमा गण्डकी गोपाल गोरक्षा विराट ज्ञानमहायज्ञ आयोजना गरिएको थियो । त्यहाँ सञ्चालित गौशालामा हाल ६५ वटा वैदिक जातका गाई रहेका छन् । गौशालालाई सुदृढ गर्दै छाडा छोडिएका तथा स्थानीय जातका गाईलाई व्यवस्थित रूपमा संरक्षण गर्ने काम भइरहेको छ ।
जलजला गाउँपालिका अध्यक्ष राजु आचार्यले स्थानीय वैदिक जातका गाईबाट प्राप्त हुने दूध, घिउ, गोबर र गहुँतको उपयोगिता तथा महत्त्वबारे प्रचारप्रसार गर्ने र आवश्यकताअनुसार बजारीकरणमा सहयोग गर्ने योजना रहेको बताउनुभयो । उहाँले वैदिक परम्परामा गाईलाई महत्वपूर्र्ण प्राणीका रूपमा लिइने उल्लेख गर्दै यसको संरक्षणसँगै पशुपालनको संस्कृतिलाई समेत प्रवद्र्धन गर्न खोजिएको बताउनुभयो ।
अध्यक्ष आचार्यका अनुसार २०७२ सालदेखि कमलनयन आचार्य (मुक्तिनाथ बाबा) को अग्रसरतामा गौसंरक्षणको काम हुँदै आएको छ । गौशालाको व्यवस्थापन र संरक्षणका लागि विभिन्न दाताको सहयोग जुटाउँदै आएको उहाँले बताउनुभयो । तिहारको गाईपूजालाई गौसंरक्षण र जनचेतना अभिवृद्धिको अवसरका रूपमा लिनुपर्ने उहाँको भनाइ छ ।
यसैगरी, कुश्मा नगरपालिकाले छाडा छोडिएका गाईवस्तुको व्यवस्थापनका लागि गौशाला निर्माण गरेको छ । यद्यपि नगरपालिकाको कार्यक्रम मुख्यतः छाडा गाईवस्तुको व्यवस्थापनमा केन्द्रित छ । धार्मिक तथा सांस्कृतिक महत्त्वसँगै कृषि र पशुपालनमा समेत उपयोगी मानिने रैथाने गाईको संरक्षणका लागि अन्य स्थानीय तहले खासै चासो देखाएको पाईदैन ।
प्रकाशित मिति २४ कार्तिक २०८३, सोमबार ०५:४५


