व्यक्ति, ओहोदा र जिम्मेवारी

मानिसको मनोविज्ञान पद र प्रतिष्ठाका लागि लालसी हुन्छ । उसको मनोविज्ञान जुनसुकै जिम्मेवारी वरण गर्न हुन्छ भन्ने निष्कर्षमा रहन्छ । यसखाले मनोवृत्तिले पद-आहोदा अवसर हो, जिम्मेवारी होइन भन्ने सन्देश दिइरहेका छ । यथार्थमा पद जिम्मेवारी हो, अवसरभन्दा पनि । जिम्मेवारीको बोझ बोक्न जोकुनै सक्षम हुँदैनन् । त्यसैले, जो कुनै अमुक पदका लागि योग्य हुँदैनन् । ती व्यक्ति नै खास पदका लागि योग्य हुन्छन्, जोसँग त्यस पदले लिने जिम्मेवारी पूरा गर्ने क्षमता र ल्याकत हुन्छ । सार्वजनिक जिम्मेवारी पूरा गर्ने र सार्वजनिक स्रोतको उपभोग गर्ने भएकाले उपयुक्त व्यक्ति नै उपयुक्त जिम्मेवारीमा रहनुपर्दछ ।

सार्वजनिक प्रशासनका पिताका रूपमा चिनिएका विड्रो विल्सनले एक प्रसंगमा भनेका थिए, सार्वजनिक ओहोदा त्यही व्यक्तिलाई दिइनुपर्दछ, जो सापेक्षिक रूपमा योग्य छ । नर्थकोट–ट्रेभिलियनले आविष्कार गरेको निजामती सेवाले योग्यता प्रणालीलाई नै संस्थागत गर्न यसका आधार, सूचक, विधि र प्रविधिमा प्रमुखता दिएथ्यो ।

सार्वजनिक पद समान रूपमा योग्यको सामान दाबेदारीमा रहन्छन् । त्यसैले समान योग्यमध्ये बढी उम्दा को हो भन्ने प्रश्न खडा हुन्छ । जसको निक्र्यौल गर्न वस्तुगत सूचक एवं मान्य विधिबाट गरिन्छ । उच्च नेतृत्वका पदमा भने उच्च तहको इमानदारिता, उच्च चरित्र र सर्वस्वीकार्यताबाट पनि व्यक्ति परीक्षित हुनुपर्दछ । राज्यको प्रतिनिधित्व गर्ने पदमा विवाद र बहसभन्दा माथि व्यक्ति रहोस् भन्ने मान्यताले काम गर्दछ । यस्ता पद जिम्मेवारी मात्र होइनन्, राज्यका सिम्बोल पनि हुन् । त्यसैले ती पदमा पुग्ने व्यक्ति वर्ग, विचार, आस्था र सम्प्रदाय माथि उठी सबैको प्रतिनिधित्व गर्ने कत्र्तव्यमा रहनुपर्दछ ।

खास पदमा कम योग्य व्यक्ति जिम्मेवारीमा पुगे भने उसले सांकेतिक भूमिका मात्र निर्वाह गर्न नसक्ने होइन कि करारी भूमिका पनि पूरा गर्न सक्दैन । र, यस अवस्थामा स्वयं उसले वरण गरेको पद र संस्थाको गरिमा स्खलित हुनपुग्छ । प्रणाली निर्माण हुनुको सट्टा यसअघि स्थापित प्रणाली पनि भत्किन्छ, रुमलिन्छ । समयमा समस्याको निकास र निर्णय हुन सक्दैन । हुने निर्णय कि साह्रो ढिला हुन्छन् वा अपूर्ण । ढिलो निर्णयले न्याय दिँदैन, अपूर्ण निर्णय त अन्याय नै हुन जान्छ ।

उच्च नेतृत्वका पदमा भने उच्च तहको इमानदारिता, उच्च चरित्र र सर्वस्वीकार्यताबाट पनि व्यक्ति परीक्षित हुनुपर्दछ

लोकतन्त्रको संस्थानीकरण भएका र प्रणाली बसेका मुलुक व्यक्तिले आफनो योग्यता, क्षमता र रुचि नभएमा पद स्वीकार नगरिएका उदाहरण प्रशस्तै भेटिन्छन् । उनीहरूले पद नस्विकारी पदप्रति नै न्याय गरेका छन् । पद स्विकार्दा पनि पदमाथि न्याय गर्दछन् । क्षमता, सामथ्र्य र निष्ठाले राम्रो डेलिभरी गर्न सक्ने भए मात्र पद स्विकर्दा पदप्रति न्याय देखिने हो । सार्वजनिक जिम्मेवारीमा न्याय गर्ने प्रवृत्तिले नै मुलुक समृद्ध बन्दै गएका हुन्, प्रणाली संस्थागत बन्दै गएको हो । पदलाई इज्जत र पदमाथि न्याय गर्ने प्रवृत्तिले सार्वजनिक संस्थाको वैधता बढ्दै जाने गर्दछ ।

पदप्रति न्याय गर्ने व्यक्तिमा रहेको निष्ठा, समर्पण र आभ्यान्तरिक ऊर्जाले व्यक्तिमा आर्जित स्वायत्ततासमेत पैदा गर्दछ । यस अवस्थामा व्यक्ति जस्तोसुकै जोखिम उठाएर पनि सही निर्णय लिने सामथ्र्यमा रहन्छ । उभय पक्षको प्रभाव र एक्स्ट्रा लिगल दबाबमा भद्र अवज्ञा गर्ने साहस राख्दछ । थोरै यस्ता प्रशासनिक, न्यायिक नेतृत्वबाट नै आउने पुस्ताले सिक्ने हो । औषत पदाधिकारीबाट सिक्ने र सिकाइने कुरा रहँदैनन्, आशा गर्न पनि सकिँदैन । उनीहरू जुनसुकै जिम्मेवारीमा रहे पनि जागिर खान्छन् । वृत्ति निर्वाह गर्दछन् ।

ओहोदा÷पदलाई अवसर होइन, जिम्मेवारी ठान्ने त्यसलाई कसरी प्रश्नमा पूरा गर्न सकिन्छ भन्ने चिन्तामा रहन्छन् । प्रणालीमाथि कसैले औंला ठड्याउन नसक्ने गरी संरक्षण गर्दछन् । आत्माले स्वीकृति नदिएका कुरा गर्दैनन् । गरिएका निर्णयबाट प्रायश्चित बोध गर्नुपर्ने अवस्थामा पुग्दैनन् । गर्छन, तर गरेको जस्तो देखाउँदैनन् । आफ्ना कामको बजारीकरण गर्न न उसको फुर्सद छ, न त्यो इरादा नै हो । नीति, निष्ठा र व्यावसायिकता उनीहरूको सर्वस्व हो, सदाचारिता उनीहरूको आचरण हो । नैतिकताको आत्मबलले नै बोल्न र मत जाजेर गर्न सक्दछन् । त्यसैले, यस्ता व्यक्तिका सामु नीति, निष्ठा र सदाचार नभएका नजर जुधाउन पनि सक्दैनन् ।

उच्च आहोदाका जिम्मेवारी वृत्तिभोग र जागिरे भावनाभन्दा माथि हुन्छन् । संस्थाको नेतृत्व गर्ने, संस्थाका मूल्यको बिम्बका रूपमा रहने र सामूहिक भावनाको प्रतिनिधित्व गर्ने गर्दछन् । प्रणालीको परिवर्तन र परिष्कार उनीहरूको दायित्व हो । प्रणालीलाई निरन्तर प्रजननशील बनाउने गर्भित दायित्व पूरा गर्दछन् । परिवर्तन र सुधारको अभिकर्ता आफंै बन्दछन्, आफंै उदाहरण हुन्छन् । सुधार र परिवर्तन संगठनभरि क्यास्केडिङ गर्दछन् तर लादेर होइन, विश्वास र सम्मतिले । जसको परिणाम उपलब्धिको विस्तार हुन्छ, संगठन र ओहोदा दुवैको उचाइ थपिँदै जान्छ । ‘पदको मान्छे’को व्यवहार गर्दैनन्, मनमनको साथी र संस्थाको सहकारी बन्दछन् ।

अल्पविकसित मुलुक विकास र समृद्धिमा पछि पर्नुको कारण संस्था निर्माण नै नभएकाले हो

अनुपयुक्त व्यक्ति अमुक पदमा पुग्दा पदमाथि मात्र अन्याय हँुदैन, आफंैमाथि पनि अन्याय हुन पुग्छ । अज्ञानताले त्यसको चेत मात्र नहुने हो । प्रत्येक व्यक्ति विशिष्ट सम्भावनाको पुञ्ज हो, उपयुक्त अवसर र जिम्मेवारीमा नै सम्भावना उपयोग हुन पुग्छ । त्यसैले, व्यक्तिको वृत्ति र ओहोदा चयन सावधानीपूर्वक गर्नुपर्दछ । अन्यथा जीवनभर व्यक्ति पनि र संस्था पनि प्रताडित हुन पुग्छन् । तर, हामीमध्ये निकै थोरै मात्र यसप्रति गम्भीर छौं । एउटा प्रसंग उल्लेख गर्न अनुमति माग्छु । नेपाली कलाकारिताका क्षेत्रका मूर्धन्य प्रतिभालाई जागिर खान मन लागेछ र उनका जागिरमा उम्दा साथीलाई कलाकार बन्न मन लागेछ । उनीहरूले छलफलको निष्कर्ष निकाले कि कलाकार जागिरमा गए र जागिरे कलाकारितामा गए दुवै आआफ्नो कार्यक्षेत्रको विशिष्टतालाई गुमाउँछन् । दुवैले आफूहरूलाई अन्याय गरी जीवनभर वृत्ति निराशामा रहन्छन् । उनीहरूको निष्कर्ष सही थियो, दुवै आआफ्ना क्षेत्रमा अब्बल अनि स्थापित छन् र दुवैले राष्ट्रलाई योगदान पु-याइरहेका छन् ।

जिम्मेवारी लिने र जिम्मेवारी पूरा गर्ने कामले नै संस्था निर्माण गर्दछ । अल्पविकसित मुलुकहरू विकास र समृद्धिमा पछि पर्नुको कारण संस्था निर्माण नै नभएकाले हो । अमेरिकामा संस्था बनेको कारण डोनाल्ड ट्रम्पजस्ता सनकमा काम गर्ने व्यक्तिले पनि प्रणालीलाई खासै भत्काउन सकेनन् । बरु उनका वैज्ञानिक सल्लाहकारमा इलन मस्क छानिए । आश्चर्य थियो त्यस्ता व्यक्तिले शताब्दीका जाजल्य आविष्कारक÷उद्यमी कसरी छानिए भन्नेमा । जिम्मेवारीप्रति न्याय गर्न नसक्ने ठम्याइपछि मस्कले ओहोदा छाडेर आफ्नै वैज्ञानिक वृत्ति झनै समृद्ध बनाए ।

समाज जटिलतातर्फ अभिमुख छ । विचार, दर्शन, वृत्ति र स्वार्थमा व्यक्ति बाँडिदै गएका छन् । ज्ञान र प्रविधिको लगातार विस्फोट भइरहेको छ । यस अवस्थामा सार्वजनिक जिम्मेवारीका नेतृत्व बहुसीपयुक्त, सामाजिक संकेत तत्काल टिप्न र प्रतिक्रिया दिन सक्ने, प्रत्युत्पन्न मति भएको र पृष्ठभूमिमा निष्ठा आर्जन गरिसकेको हुनुको विकल्प छैन । किनकि, राज्य प्रणालीले यसअघि कहिल्यै सामना गर्न नपरेको आन्तरिक तथा बाह्य दबाबमा छन् । दबाबले सिर्जना गरेको चुनौती सामना गर्न पनि निष्ठाको नेतृत्व चाहिन्छ । त्यो व्यावसायिक र सदाचारी हुनैपर्छ ।

गोपीनाथ मैनालीद्धारा लिखित लेख हामीले राजधानी दैनिकवाट साभार गरेका होँ ।

प्रकाशित मिति ३ चैत्र २०७७, मंगलवार ००:४५