फिल्म एडिटर वाल्टर मर्च किन उठेरै काम गर्छन् ?

तपाईं हामी सबैले देखेका छौं कि फिल्म एडिटरहरु कुर्सिमा बसेर काम गर्छन् । तर, विश्वमै प्रख्यात एडिटर वाल्टर मर्च भने उठेर फिल्म एडिट गर्छन् । उनको यो शैलीलाई सबैले अनौठो मान्छन् ।

वाल्टर मर्च अरुको ध्यान आकर्षण गर्न यसो गर्दैनन् । न त यो कुनै स्टन्ट नै हो । उनलाई सस्तो प्रचारको कुनै आवश्यकता पनि छैन ।
अहिले ७४ वर्ष पुगिसकेका वाल्टर तीनपटक ओस्कर अवार्ड जितिसकेका एडिटर हुन् । उनले एडिट गरेका फिल्ममा ‘गडफादर’, ‘अमेरिकी ग्राफिटी’, ‘द इंग्लिस प्यासियन्ट’ लगायत पर्छन् ।

उनी एडिटरमात्र होइन साउन्ड डिजाइनर पनि हुन् । र आधुनिक सिनेमाका एक प्रतिष्ठित एडिटर तथा साउन्ड डिजाइनर मानिन्छन् । अमेरिकामा जन्मेका वाल्टरले एडिट तथा साउन्ड डिजाइन गरेको पहिलो फिल्म सन् १९६९ को ‘द रेन पिपुल’ थियो, जसलाई ‘गडफादर’का निर्देशक फ्रान्सिस फोर्ड कोपोलाले निर्देशन गरेका थिए ।

उनी फिल्म एडिटरलाई म्युजिक कन्डक्टर, कुक, सर्जन र डान्सरसँग तुलना गर्छन् । यी सबैले उठेरै आफ्नो कला प्रस्तुत गर्छन् । त्यसैले एडिटरले पनि उठेरै काम गर्नुपर्ने उनको तर्क छ ।

‘उठेर काम गर्दा समयको प्रवाहलाई महसुस गर्न सजिलो हुन्छ,’ उनले भन्दै आएका छन्, ‘डान्सर पनि खडा हुन्छ । एडिटिङ पनि डान्सजस्तै हो । यसमा पनि कोरियोग्राफी हुन्छ ।’

साथै उठ्दा खेरि खुट्टाले चल्मलाउन पाउँछ र यसले दिमागमा रक्तसंचार बढी स्फूर्त बनाउँछ भन्ने मेडिकल रिपोर्ट उनले कतै पढेका रहेछन् । फिल्म एडिट गर्दा पनि उठ्यो भने मन चंगा हुने उनको अनुभव छ ।

उनी सधैं उभिने चाहिँ होइनन् । थकाइ मार्न वा कम्प्युटरले समय लिँदा उनी बस्छन् । तर बढी क्रियटिभ हुनुपर्ने क्षणमा उभिएकै हुन्छन् । उनले सन् १९९५ मा निकालेको ‘इन द ब्लिंक अफ आई’ फिल्म एडिटरले नपढी नहुने किताबमा गनिन्छ ।

प्रकाशित मिति १९ जेष्ठ २०७५, शनिबार १७:१६