गण्डकी संचार, पर्वत । कोभिड महामारीका कारण थला परेको धौलागिरि क्षेत्रको चलचित्र पर्यटनलाई ब्युँताउने प्रयासमा केही युवा लागेका छन् । स्थानीय युवाको लगानीमा स्थापित अहुरी इन्टरटेन्मेन्टले पुस ७ देखि १० सम्म चारदिने चलचित्र महोत्सवको आयोजना गर्न लागेको हो ।
धौलागिरिमा पहिलो पटक आयोजना गर्न लागिएको चलचित्र महोत्सवमा धौलागिरि क्षेत्रमै छायांकन भएका सानो तथा ठूलो पर्दाका गरी ३० भन्दा धेरै चलचित्रको प्रदर्शन गरिने जनाइएको छ ।
सोमबार पर्वतको कुश्मा बजारमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका पदाधिकारीले सुस्ताएको चलचित्र बजारलाई ब्युँझाउने गरी कार्यक्रम आयोजना गर्न लागिएको बताए । त्यसका अलावा धार्मिक तथा प्राकृतिक पर्यटनमा फड्को मार्दै गरेको पर्वतसहित धौलागिरिका अरू जिल्लालाई समेटेर चलचित्र छायांकन गर्नेहरूका लागि पनि चलचित्र महोत्सव एक अवसरका रूपमा उपयोग हुने आयोजकले बताए ।
सदरमुकामको सिद्धेश्वर चलचित्र हलमा आयोजना हुने चारदिने महोत्सवका अवसरमा धौलागिरिमा जन्मिएर चलचित्रका क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाएका निर्माता, निर्देशक तथा कलाकारको जमघट हुनेछ ।
प्रकाशित मिति २८ मंसिर २०७८, मंगलवार ११:४५


