पर्वत जेसीजद्वारा एक लाख ११ हजार राशिको खुला फुटबल प्रतियोगिता आयोजना

पर्वत, साउन २५ । युवालाई खेलकुदतर्फ आकर्षित गर्दै स्थानीय खेलाडीको प्रतिभा पहिचान तथा प्रवर्द्धन गर्ने उद्देश्यले पर्वत जेसीजले एक लाख ११ हजार एक सय ११ रुपैयाँ राशिको ‘सेभेन ए साइड खुला फुटबल प्रतियोगिता’ आयोजना गर्ने भएको छ।

साउन २८ देखि ३१ गतेसम्म कुश्माबजारस्थित बडागाउँ खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। पर्वत जेसीजको आयोजनामा हुने प्रतियोगितामा जिल्ला भित्र तथा बाहिरका विभिन्न फुटबल क्लब र टोलीहरूको सहभागिता रहनेछ।

पर्वत जेसीज वर्ष २०२६ की अध्यक्ष शर्मिला शर्माले प्रतियोगितामार्फत जिल्लामा फुटबल खेलको विकास गर्नुका साथै युवामा अनुशासन, नेतृत्व क्षमता र आपसी भाइचाराको भावना अभिवृद्धि गर्ने लक्ष्य रहेको बताइन्। उनका अनुसार प्रतियोगितामा राष्ट्रियस्तरका उत्कृष्ट टोलीहरूको समेत सहभागिता रहनेछ।

प्रतियोगिताको विजेता टोलीले नगद एक लाख ११ हजार एक सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५५ हजार पाँच सय ५५ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उदयीमान खेलाडी तथा फेयर प्ले टोलीलाई पनि विशेष पुरस्कार प्रदान गरिनेछ।

आयोजकका अनुसार हालसम्म १६ टोलीले नाम दर्ता गरिसकेका छन् भने थप करिब एक दर्जन टोली सम्पर्कमा रहेका छन्।

शनिबार आयोजित कार्यक्रममा जेसीज कपको शिल्ड, मेडल र जर्सी अनावरण गरिएको थियो। पर्वत जेसीज अध्यक्षीय क्लबका अध्यक्ष सिनेटर कृष्णप्रसाद श्रेष्ठले प्रतियोगिताको शिल्ड अनावरण गरेका थिए।

खेलका मूल संयोजक एन्जल कर्माचार्यका अनुसार चार दिनसम्म सञ्चालन हुने प्रतियोगिताका अधिकांश तयारी पूरा भइसकेका छन्। प्रतियोगिताको प्रथम पुरस्कार क्लबका पूर्व अध्यक्षहरूले तथा उपविजेताको पुरस्कार अध्यक्ष शर्माका सासू–ससुराले सौजन्य गरेका छन्। सहभागी खेलाडीहरूका लागि निःशुल्क खानपान र बसोबासको व्यवस्था समेत गरिएको छ।

प्रतियोगिता सञ्चालनका लागि करिब १० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर वि. पौडेल, नेपाल पत्रकार महासंघ पर्वत शाखाका अध्यक्ष लक्ष्मण सापकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा खेल संयोजक एन्जल कर्माचार्यले स्वागत मन्तव्य राखेका थिए भने महासचिव रामचन्द्र सुवेदीले सञ्चालन गरेका थिए।

प्रकाशित मिति २५ श्रावण २०८३, सोमबार ११:३१