वडाध्यक्षको तलवभत्ता सामाजिक कार्यमा, कर्मचारीदेखि अपाङ्गता भएका व्यक्तिसम्मलाई सहयोग

गण्डकी संचार (पर्वत) । स्थानीय तहका जनप्रतिनिधिमाथि सेवा–सुविधा खर्चका विषयमा प्रश्न उठिरहेका बेला फलेवास नगरपालिका–४ मुडिकुवाका वडाध्यक्ष अच्युत तिवारीले आफूले पाउने सेवा–सुविधा सामाजिक क्षेत्रमा खर्च गर्दै आएका छन् ।

शुक्रवार आयोजित कार्यक्रममा तिवारीले वडाका विभिन्न कार्यालयमा कार्यरत चार कर्मचारीलाई दोसल्ला ओढाएर सम्मान गरेका छन् । यस्तै नौ जना महिला स्वास्थ्य स्वयंसेविकालाई नगदसहित सम्मान गरिएको छ । वडाका तीन वटा आमा समूहलाई १०÷१० हजार रुपैयाँ प्रदान गरिएको छ भने एक जना अपाङ्गता भएका व्यक्तिलाई चार हजार रुपैयाँ सहयोग गरिएको छ ।

वडा अध्यक्ष तिवारीले आजको कार्यक्रममा कर्मचारी, आमा समूह, स्वास्थ्य स्वयंसेविका, अपाङ्गता भएका व्यक्ति तथा गरिब, विपन्न र दलित समुदायलाई गरी करिब एक लाख ४० हजार रुपैयाँ सहयोग वितरण गरेको जनाएका छन् ।

मासिक २४ हजार २ सय रुपैयाँ सेवा–सुविधा बुझ्ने तिवारी नेपाली कांग्रेसका जिल्ला सहसचिवसमेत हुन् । उनले आफ्नो सेवा–सुविधाको १० प्रतिशत पार्टीलाई बुझाउने र बाँकी रकममध्ये ठूलो हिस्सा सामाजिक कार्यमा खर्च गर्ने गरेका छन् । २०७९ को स्थानीय तह निर्वाचनबाट निर्वाचित तिवारीले आफ्नै वडामात्र नभई जिल्लाका अन्य स्थानमा समस्यामा परेकाहरूलाई समेत सहयोग गर्दै आएका छन् ।

कार्यक्रममा उनले जनताबाट आएको रकम जनताकै हितमा खर्च गर्नु आफ्नो दायित्व भएको बताए । ‘मैले पाउने सेवा–सुविधा जनताकै करबाट जुटेको रकम हो । त्यसैले सकेसम्म जनताकै हितमा खर्च गर्ने प्रयास गरेको छु,’ तिवारीले भन,े “वडाका कर्मचारी, स्वास्थ्य स्वयंसेविका, आमा समूह र अपाङ्गता भएका व्यक्तिहरू समाजका महत्वपूर्ण आधार हुन् । उहाँहरूको सम्मान र सहयोगले थप जिम्मेवारीबोध तथा उत्साह बढ्ने विश्वास लिएको छु ।”

प्रकाशित मिति २९ श्रावण २०८३, शुक्रबार ११:३९