मर्मत अभावमा जीर्ण बन्दै झोलुङ्गे पुल

गण्डकी संचार (पर्वत) । कुनै समय जिल्लाको गौरव र विकासको प्रतीक मानिएका पर्वतका झोलुङ्गे पुलहरू अहिले मर्मत अभावमा जीर्ण बन्दै गएका छन् । कालीगण्डकी र मोदी नदीमाथि निर्माण गरिएका अग्ला र लामा पुलहरूले दुर्गम बस्तीलाई सदरमुकामसँग जोड्दै आवतजावतलाई सहज बनाएका छन् भने पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान दिएका छन् । तर निर्माणपछि नियमित मर्मत र संरक्षणमा ध्यान नपुग्दा कतिपय पुलका लट्ठा खुकुला भएका छन्, जाली च्यातिएका छन्, डेक उप्किन थालेका छन् भने नटबोल्टसमेत कमजोर बन्दै गएका छन् । दैनिक सयौँ नागरिक र पर्यटकले प्रयोग गर्ने यस्ता पुलको अवस्था बिग्रँदै जाँदा सुरक्षा चिन्ता पनि बढ्न थालेको छ ।

पर्वतका कुश्मा–ज्ञादी, कुश्मा–कैया, मुडिकुवा–बडागाउँ तथा पाङ–रामरेखा (बागलुङ) झोलुङ्गे पुल जिल्लाको पहिचानका रूपमा स्थापित छन् । विशेषगरी अग्ला र लामा पुल अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक दैनिक रूपमा आउने गरेका छन् । तर पुल निर्माण भएको वर्षौं बितिसक्दा पनि अधिकांश पुलले आवश्यक मर्मतसम्भार पाउन सकेका छैनन् ।

जिल्लाकै पहिलो, अग्लो र लामो पुलका रूपमा परिचित कुश्मा–ज्ञादी झोलुङ्गे पुल वि.सं. २०६६ मा निर्माण भएको हो । ३४४ मिटर लामो र १३५ मिटर अग्लो यो पुल सुरुमा पैदलयात्रुका लागि निर्माण गरिएको भए पनि निर्माणलगत्तै मोटरसाइकल तथा स्कुटर सञ्चालन हुन थालेपछि संरचनामा थप दबाब परेको स्थानीय बताउँछन् । डेढ दशक पुगिसक्दा पनि नियमित मर्मत हुन नसक्दा पुलका लट्ठा, डेक, बार तथा नटबोल्टमा समस्या देखिन थालेका छन् । कुश्मा नगरपालिका–९ का वडा अध्यक्ष राम शर्मा लामिछानेका अनुसार पुलको अवस्था वर्षेनी कमजोर बन्दै गएको छ । केही समय स्थानीयले मोटरसाइकल सञ्चालनमा रोक लगाए पनि सामान्य मर्मतपछि पुनः सञ्चालन गरिएको थियो । ‘पुल अझै जोखिममुक्त छैन, दीर्घकालीन संरक्षणका लागि व्यापक मर्मत आवश्यक छ,’ उहाँले भन्नुभयो ।

वि.सं. २०६९ मा निर्माण भएको कुश्मा–कैया झोलुङ्गे पुल पनि मर्मत अभावको समस्याबाट अछुतो छैन । एक करोड ९६ लाख रुपैयाँ लागतमा बनेको ३४७ मिटर लामो र १४७ मिटर अग्लो पुलले दक्षिण बागलुङका बासिन्दालाई सहज आवतजावतको सुविधा दिएको छ । तर स्थानीयका अनुसार निर्माणपछि लामो समयसम्म मर्मत नभएको पुलमा तीन वर्षअघि सामान्य मर्मत गरिएको थियो । अहिले फेरि विभिन्न संरचनात्मक भागमा क्षति देखिन थालेको छ ।

मोदी खोलामाथि निर्माण गरिएको मुडिकुवा–बडागाउँ झोलुङ्गे पुलले दक्षिण पर्वतका बासिन्दाको यात्रा समय एक घण्टाबाट १० मिनेटमा झारेको छ । २०७२ सालमा निर्माण भएको ३५९ मिटर लामो र १५५.७० मिटर अग्लो पुल अहिले भने मर्मतको पर्खाइमा छ । पुल निर्माण समितिका अध्यक्ष बालकृष्ण तिवारीका अनुसार पुलका लट्ठा लतारिएका छन्, जाली च्यातिएको छ र नटबोल्ट तथा पाता उक्किन थालेका छन् । पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको उहाँको गुनासो छ ।

पर्वत र बागलुङ जोड्ने पाङ–रामरेखा झोलुङ्गे पुल ‘सिङ्गल स्पान’मा संसारकै लामो पुलका रूपमा परिचित छ । ५६७ मिटर लामो यो पुल २०७७ सालमा निर्माण गरिएको हो । पर्यटनको प्रमुख आकर्षण बनेको पुलमा हाल ठूलो समस्या नदेखिए पनि नियमित निरीक्षण र मर्मतको आवश्यकता रहेको स्थानीयवासीको भनाइ छ ।

फलेवास नगरपालिका प्रमुख गंगाधर तिवारीले नगरपालिकाले आफ्नो क्षमताअनुसार झोलुङ्गे पुल मर्मतका लागि बजेट विनियोजन गर्दै आएको बताउनुभयो । तर लामो र ठूला पुलको मर्मतका लागि ठूलो रकम आवश्यक पर्ने भएकाले स्थानीय तहको स्रोतले मात्र धान्न कठिन भएको उहाँको भनाइ छ । यस्ता संरचनाको संरक्षणका लागि प्रदेश र संघीय सरकारको सहयोग अपरिहार्य रहेको उहाँले बताउनुभयो ।

सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका सूचना अधिकारी एवम् सिनियर डिभिजन इन्जिनियर (सि.डि.इ.) प्रेमनारायण बस्यालले झोलुङ्गे पुल मर्मतका लागि छुट्टै योजना बनाएर बजेट विनियोजन नहुने बताउनुभयो । ‘पालिका, वडा वा स्थानीयबाट पुल बिग्रिएको जानकारी आएपछि प्राविधिक पठाएर आवश्यकताको आधारमा अनुगमन गर्छौँ,’ उहाँले भन्नुभयो “पर्वतमा हामीले आवश्यकताका आधारमा पुल मर्मत कार्य गदै आएका छौँ ।” उहाँका अनुसार झोलुङ्गे पुल मर्मत नयाँ पुल निर्माणभन्दा कठिन हुन्छ ।

पर्वतलाई नेपालकै झोलुङ्गे पुलहरूको प्रमुख जिल्ला मानिन्छ । जिल्लामा निर्माण भएका अग्ला, लामा तथा आकर्षक झोलुङ्गे पुलहरूले पर्वतलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराएका छन् । तर विडम्बना, जिल्लामा हाल सञ्चालनमा रहेका झोलुङ्गे पुलहरूको यकिन तथ्याङ्क भने कुनै निकायसँग उपलब्ध छैन ।

सस्पेन्सन ब्रिज डिभिजन कार्यालय ललितपुरका अनुसार पर्वत जिल्लामा कार्यालयमार्फत १४ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । तर अन्य पुलहरूको विस्तृत विवरण कार्यालयसँग नभएको जनाएको छ । संविधान र स्थानीय सरकार सञ्चालन ऐनअनुसार साना झोलुङ्गे पुलहरूको निर्माण, मर्मत तथा व्यवस्थापनको जिम्मेवारी स्थानीय तह र प्रदेश सरकारको समेत हुने भएकाले सबै पुलहरूको अभिलेख एकीकृत रूपमा उपलब्ध नभएको कार्यालयको भनाइ छ ।

पर्यटन र विकासको प्रतीकका रूपमा स्थापित झोलुङ्गे पुलहरूले पर्वतलाई देश–विदेशमा चिनाउन महत्वपूर्ण भूमिका खेलेका छन् । बञ्जी जम्प, स्विङलगायत साहसिक पर्यटन गतिविधिसँग जोडिएका यी पुलहरू जिल्लाका प्रमुख पर्यटकीय आकर्षणसमेत बनेका छन् । तर समयमै मर्मतसम्भार र संरक्षण हुन नसके दुर्घटनाको जोखिम बढ्नुका साथै जिल्लाको पर्यटन छविमा समेत नकारात्मक असर पर्न सक्ने देखिन्छ ।

प्रकाशित मिति २१ श्रावण २०८३, बिहीबार ००:२६