गण्डकी संचार (पर्वत) । दक्षिणी पर्वतका नागरिकलाई सेवा प्रदान गर्दै आएको इलाका प्रशासन कार्यालय हुवासले आफ्नै भवन पाउने भएको छ । चालु आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित कार्यालय भवन निर्माणका लागि दुई करोड ९५ लाख रुपियाँ बजेट विनियोजन भएको पैयूँ गाउँपालिकाले जनाएको छ ।
वि.सं. २०७३ सालमा स्थापना भएको उक्त कार्यालय हालसम्म भाडाको भवनबाट सञ्चालन हुँदै आएको छ । कार्यालयले पैयूँ गाउँपालिकाका सबै वडा, बिहादी गाउँपालिकाको वडा नं. १ बाच्छा बाहेकका क्षेत्र तथा महाशिला गाउँपालिकाको वडा नं. ६ अन्तर्गत साविक फलामखानीबाहेकका बासिन्दालाई नागरिकता, राहदानी सिफारिस, नाबालक परिचयपत्र तथा अन्य प्रशासनिक सेवा प्रदान गर्दै आएको छ ।
कार्यालयको स्थायी भवन निर्माणका लागि गाउँपालिकाले आवश्यक जग्गा व्यवस्थापन गर्नुका साथै करिब तीन लाख ५० हजार रुपियाँ खर्च गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेको थियो । सोही आधारमा सम्बन्धित निकायसँग बजेट माग गरिएकामा गृह मन्त्रालयबाट चालु आर्थिक वर्षमा बजेट सुनिश्चित भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी ‘राज’ले इलाका प्रशासन कार्यालय हुवास तथा जिल्ला प्रशासन कार्यालय पर्वतसँगको समन्वय र निरन्तर पहलबाट भवन निर्माणका लागि बजेट प्राप्त भएको बताउनुभयो । उहाँले भवन निर्माण सम्पन्न भएपछि सेवाप्रवाह थप व्यवस्थित, प्रभावकारी र सेवाग्राहीमैत्री बन्ने विश्वास व्यक्त गर्नुभयो ।
भवन निर्माणका लागि आवश्यक एक रोपनीभन्दा बढी जग्गा स्थानीय आले परिवारले निःशुल्क उपलब्ध गराएका हुन् । हालको बजार मूल्यअनुसार उक्त जग्गाको मूल्य एक करोड रुपैयाँभन्दा बढी पर्ने अनुमान गरिएको छ । स्थानीय सहबिर आले, प्रेमबहादुर आले तथा चन्द्री आले, अमृत आले, गौरी आले, नरेश आले, जितेन्द्र आले र सुजन आलेलगायतले सार्वजनिक हितका लागि जग्गा उपलब्ध गराउनुभएको हो ।
जग्गादाता सहबिर आलेले स्थानीय नागरिकलाई सहज रूपमा सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले परिवारले जग्गा प्रदान गरेको बताउनुभयो । उहाँले सार्वजनिक प्रयोजनका लागि गरिएको योगदानबाट भावी पुस्तासमेत लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।
इलाका प्रशासन कार्यालयका शाखा अधिकृत अनिलराज कोइरालाले हाल कार्यालय सञ्चालन भइरहेको भाडाको भवन साँघुरो भएकाले सेवाग्राहीको चाप व्यवस्थापन गर्न कठिनाइ हुँदै आएको बताउनुभयो । उहाँका अनुसार पर्याप्त कार्यकक्ष तथा प्रतीक्षालयको अभाव हुँदा सेवाप्रवाहमा समस्या हुने गरेको थियो । नयाँ भवन निर्माण भएपछि सेवा प्रवाह थप सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
कार्यालय सञ्चालनका लागि हाल मासिक ३० हजार रुपियाँ घरभाडा तिर्दै आइएको छ । आफ्नै भवन निर्माण भएपछि उक्त खर्च बचत हुनुका साथै कार्यालयको भौतिक पूर्वाधारसमेत सुदृढ हुने अपेक्षा गरिएको छ । गाउँपालिकाले भवन निर्माण प्रक्रिया छिट्टै अगाडि बढाइने जनाएको छ ।
प्रकाशित मिति २१ श्रावण २०८३, बिहीबार ००:३९


